नेपालमा दिगो औद्योगिक अभ्यास प्रवर्द्धनतर्फको महत्वपूर्ण पहलका रूपमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऊर्जा दक्षता उपायहरू अपनाउने उद्योगहरूलाई पहिलो चरणको वित्तीय अनुदान वितरण गरेको छ। सन् २०२५ जुलाई १७ (२०८२ साउन १) मा काठमाडौंस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजना गरिएको विशेष कार्यक्रममा अनुदान हस्तान्तरण गरिएको हो।
ऊर्जा लेखा परीक्षणमार्फत पहिचान गरिएका प्रमुख ऊर्जा बचत उपायहरू कार्यान्वयन गरेबापत १० वटा उद्योगहरूले करिब २ करोड ९० लाख रुपैयाँको अनुदान सहायता प्राप्त गरेका छन्। यी उपायहरूबाट वार्षिक रूपमा लगभग ३६,७८८ मेगावाट घण्टा ऊर्जा बचत हुने अपेक्षा गरिएको छ, जसले नेपालको जलवायु परिवर्तन सम्बन्धी प्रतिबद्धता र दिगो औद्योगिक विकासको एजेन्डामा प्रत्यक्ष योगदान पुर्याउनेछ।
अनुदान कार्यक्रम ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम – नेपालमा ऊर्जासँग हरित पुन: प्राप्ति र सशक्तिकरण (REEP-GREEN)’ अन्तर्गत सञ्चालन गरिएको हो। उक्त कार्यक्रम युरोपेली संघ र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको संयुक्त वित्तीय सहयोगमा सञ्चालित छ। REEP-GREEN ले उच्च ऊर्जा खपत गर्ने उद्योगहरूलाई दिगो अभ्यास अपनाउन प्रोत्साहित गर्दै, प्रमाणित स्थानीय लेखा परीक्षकहरूद्वारा सिफारिस गरिएका ऊर्जा दक्षता उपायहरूको कार्यान्वयनमा लगानी लागतको आंशिक अनुदान प्रदान गर्छ। यस कार्यक्रमले ऊर्जा दक्षता, सभ्य कार्य अभ्यास र वातावरणीय मापदण्डको पालना सुनिश्चित गर्न जोड दिएको छ।
अनुदान वितरण कार्यक्रमले औपचारिक रूपमा REEP-GREEN अनुदान सुविधा सञ्चालनमा आएको संकेत गर्छ। यसले नेपालका उद्योगहरूलाई स्वच्छ, ऊर्जा-कुशल प्रविधिहरू अपनाउन उत्प्रेरित गर्ने विश्वास लिइएको छ। कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री देवेन्द्र रमण खनालले हरित अर्थतन्त्र र दिगो वित्तका पक्षमा बैंकको प्रतिवद्धता दोहोर्याएका थिए। उनले उल्लेख गरेअनुसार, यस्ता कार्यक्रमहरूले दिगो भविष्य निर्माणमा बैंकको भूमिका अझ मजबुत बनाउनेछ।
कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशक श्री रुद्र खनाल, युरोपेली संघ, जर्मन दूतावास, GIZ नेपालका प्रतिनिधि, ऊर्जा परामर्शदाता, उद्योगी तथा निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
यो वित्तीय सहायता पहल नेपाल सरकारको दिगो औद्योगिक विकासको नीति अनुरूप रहेको छ। गोलाकार अर्थतन्त्र, वातावरणीय अनुपालन र सभ्य श्रम अभ्यासलाई समेट्दै, यसले उद्योगहरूमा व्यवहारिक र आर्थिक रूपमा ऊर्जा दक्षता उपायहरू लागू गर्न प्रेरणा दिनेछ। यसरी प्राप्त अनुभव तथा लाभहरू भविष्यमा सार्वजनिक र निजी क्षेत्रका लागि मिश्रित वित्तपोषण र ऋणमूलक योजनाको विकासका लागि ‘प्रमाणित उदाहरण’ बन्ने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस