पछिल्ला केही दिनदेखि लगातार रुपमा सेयर बजार उच्च अंकले बढेर कारोबार भइरहेको छ ।
नयाँ मौद्रिक नीति सार्वजनिक भए पछि लगातार रुपमा बढेको सेयर मूल्य मंगलबार पनि उच्च अंकले बढेर कारोबार भएको थियो । पछिल्लो ६ महिनाको अवधिमा सेयर बजार परिसूचक १३.९९ प्रतिशतले वृद्धि भएको छ । त्यसमा पनि पछिल्ला केही दिनको बढाइनै धेरै रहेको देखिन्छ ।
माघ महिनाको ६ गते सेयर बजार २६०८ विन्दुमा रहेको थियो भने साउन ६ गतेको कारोबार बन्द हुँदा परिसूचक २९७३ विन्दुमा पुगेको छ । यो ६ महिनाको अवधिमा ४ वटा कम्पनीको सेयर मूल्यमा भने सतप्रतिशत वृद्धि भएको छ । ६ महिनाको अवधिमा बुटवल पावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, एनआएन इन्फ्रास्टक्चर डेभलपमेन्ट कम्पनी र राधि विद्युत कम्पनीको सेयर मूल्यमा सतप्रतिशतको वृद्धि भएको छ । त्यसमध्ये पनि बुटवल पावरको सेयर मूल्य माघ ६ गतेको तुलनामा साउन ६ गते १५१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
६ महिनाको अवधिमा बुटवल पावरको सेयर मूल्य १५१.२९ प्रतिशतले वृद्धि भएको छ । माघ ६ गतेको अन्तिम कारोबार रमयमा ३८६ रुपैयाँमा कारोबार भएको यो कम्पनीको सेयर मूल्य (आज) साउन ६ गते ९७० रुपैयाँ पुगेको छ । यो अवधिमा यो कम्पनीका सेयरधनीहरुले प्रतिकित्ता ५८४ रुपैयाँ कमाएका छन् ।
त्यस्तै एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टको सेयर मूल्य पनि १०७.२० प्रतिशत अर्थात १ हजार २२१ रुपैयाँ १ पैसाले वृद्धि भएको छ । माघ ६ गतेको कारोबार बन्द हुँदा १ हजार १३९ रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य (आज) साउन ६ गतेको कारोबार बन्द हुँदा २ हजार ३६० रुपैयाँ १० पैसा पुगेको छ । ६ महिनाको अवधिमा राधि विद्युतको सेयर मूल्य १३५.२६ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ६ महिनाको अवधिमा ४६८ रुपैयाँले बढेको छ । माघ महिनाको ६ गते यो कम्पनीको सेयर मूल्य ३४६ रुपैयाँ रहेको थियो भने (आज) साउन ६ गते बढेर ८१४ रुपैयाँ पुगेको छ ।
त्यस्तै ६ महिनाको अवधिमा नेपाल रि इन्स्योरेन्सको सेयर मूल्य पनि ९७.७० प्रतिशतले बढेर १ हजार ५५२ रुपैयाँ पुगेको छ । माघ ६ गते ७८५ रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य साउन ६ गते १ हजार ५५२ रपैयाँ पुगेको छ । यो अवधिमा यो कम्पनीको सेयर मूल्य ७६७ रुपैयाँले बढेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस