अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले यही अगस्ट १ देखि उक्त कर दर लागू हुने बताएका हुन्। उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक विज्ञप्ति प्रकाशित गर्दै उक्त घोषणा गरेका हुन्।
व्यापार असन्तुलन सुधार गर्ने अभियानका क्रममा ट्रम्पले धेरै मुलुकहरूबाट आयात हुने सामानमा कर लगाउने चेतावनी दिएका थिए। । भारतसँग पनि यस विषयमा वार्ता चलिरहेको थियो र अगस्ट १ सम्मको समय दिइएको थियो। तर, वार्ता सकिन दुई दिन बाँकी छँदै उनले एकतर्फी रूपमा भारतमाथि उच्च आयात कर लगाउने निर्णय सार्वजनिक गरेका हुन्। अहिलेसम्म भारत–अमेरिका व्यापार सम्झौता टुंगोमा पुगेको छैन। यस्तो अवस्थामा आएको ट्रम्पको घोषणा अप्रत्याशित र राजनीतिक रूपमा संवेदनशील मानिएको छ। यो निर्णयले भारतका निर्यातकर्ताहरूलाई गहिरो असर पार्न सक्छ भने अमेरिकी उपभोक्ताले समेत मूल्यवृद्धिको भार बेहोनु पर्ने सम्भावना छ।
भारतबाट अमेरिका निर्यात हुने प्रमुख वस्तुहरूमा औषधि, कपडा, गहना, औद्योगिक उपकरण, स्टील, र आइटी सेवा सम्बन्धी सामग्रीहरू पर्दछन्। यी वस्तुहरूमा कर वृद्धि हुँदा प्रतिस्पर्धात्मकता घट्ने र व्यापार घाटा थप बढ्न सक्ने चिन्ता भारतीय उद्योग जगतमा देखिन थालेको छ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले ट्रम्पको घोषणाप्रति संयमित प्रतिक्रिया दिएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सरकारले अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइलाई गम्भीरताका साथ लिएको छ र यसको सम्भावित असरको अध्ययन भइरहेको छ।' साथै, मन्त्रालयले आर्थिक, कूटनीतिक र व्यापारिक प्रभावको मूल्याङ्कन गरिरहेको स्पष्ट पारेको छ।
अब अमेरिका–भारत व्यापार सम्बन्ध कुन दिशातर्फ मोडिन्छ भन्ने कुरा आगामी दिनहरूमा हुने कूटनीतिक संवादमा निर्भर रहनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस