निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका छन्।
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरूका संस्था प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। आन्दोलन कार्यक्रमअनुसार, आज स्थानीय पालिकाका प्रमुख तथा शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाइनेछ। त्यसपछि, शुक्रबार जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाइने कार्यक्रम तय गरिएको छ।
त्यस्तै, भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भदौ २ गते क्षेत्रीय सांसदहरूलाई ज्ञापनपत्र बुझाउँदै सुझाव संकलनका लागि राष्ट्रिय परिषद्को भर्चुअल बैठक गर्ने निर्णय गरिएको छ। प्याब्सन र एनप्याब्सनले भदौ ३ गते पालिका, ४ गते जिल्ला, ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक आयोजना गर्ने र भदौ ६ र ७ गते केन्द्र तथा प्रदेशस्तरका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गर्ने जनाएका छन्।
प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र एनप्याब्सनका अध्यक्ष सुभाष न्यौपानेद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा सबै तहका समितिहरूलाई आन्दोलनका कार्यक्रमहरू सफल बनाउन आवश्यक तयारी गर्न आग्रह गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस