निजी विद्यालय सञ्चालकहरूले १८ भदौदेखि देशभरका निजी विद्यालयहरू बन्द गर्ने घोषणा गरेका छन्। निजी विद्यालयका छाता संगठनहरू—प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्त रूपमा विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन्।
विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै उनीहरू निरन्तर आन्दोलनमा छन्। आन्दोलनको पहिलो चरण आज सकिएको छ । निजी क्षेत्रले विधेयकमा उल्लेख गरिएको गैरनाफामूलक धारणासहित पूर्ण छात्रवृत्तिको व्यवस्था हटाइनु पर्ने माग अघि सारेका छन्।
यस्तो रहनेछ आन्दोलनको दोस्रो चरणको आन्दोलन :
दोस्रो चरणअन्तर्गत भदौ १२ गते बिहान ११ बजे देशभरका जिल्ला सदरमुकामहरूमा बृहत् खबरदारी सभा गरिनेछ। काठमाडौं उपत्यकामा भने माइतीघर मण्डलाबाट र्याली निकालेर कोण सभामा परिणत गरिनेछ।
भदौ १४ र १५ गतेका लागि संगठनहरूले आ–आफ्ना तयारी बैठक गर्ने कार्यक्रम तय गरेका छन्। भदौ १६ गते बिहान ११ बजे देशभरका स्कुल बसहरूमा कालो झण्डा र व्यानरसहित नगर परिक्रमा गरिनेछ। काठमाडौं उपत्यकामा यो र्याली चक्रपथ वरिपरि २७ किमी दूरीमा निकालिनेछ भने जिल्लाहरूमा प्रति घण्टा २० किमीको गतिमा प्रदर्शन गरिनेछ। उक्त कार्यक्रममा सबै तहका पदाधिकारी, विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरूको अनिवार्य उपस्थिति रहने बताइएको छ।
भदौ १७ गते तयारी र मूल्याङ्कन बैठक गरिनेछ भने भदौ १८ गते पुनः सबै जिल्लामा खबरदारी सभा गरिनेछ। काठमाडौंमा पुनः माइतीघर मण्डलामा र्याली र कोण सभा गरिनेछ। यदि भदौ १८ गतेसम्म पनि आन्दोलनकारीहरूको माग सम्बोधन नभएमा, उनीहरूले अनिश्चितकालीन विद्यालय बन्दको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस