नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद आज (भदौ २ गते) सकिँदैछ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत बराबरको हकप्रद सेयर निष्कासनमा ल्याएको हो। यसअनुसार हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३.४७८३ कित्ता दरमा हकप्रद सेयर पाउने व्यवस्था गरिएको छ।
यो आधारमा नेपाल इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो, जसको कुल मूल्य ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबर हुन्छ।
हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो। त्यस अनुसार जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन्।
यस निष्कासनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले नेपाल इन्स्योरेन्सलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।
यस हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले बिक्री प्रबन्धकको केन्द्रीय कार्यालय वा शाखा कार्यालयबाट प्रत्यक्ष आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो सेयर’ अनलाइन सफ्टवेयर प्रयोग गरी सि-आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
हाल नेपाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासन र बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस