Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगार : रेमिट्यान्समा रमाएको सरकार श्रमिकको सुरक्षाप्रति बेखबर

महेन्द्र शाही

विहीबार, ०५ भदौ २०८२, १० : ३१ मा प्रकाशित

वैदेशिक रोजगार : रेमिट्यान्समा रमाएको सरकार श्रमिकको सुरक्षाप्रति बेखबर

वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको संख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीसँग छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो ५ आर्थिक वर्षमा विदेशमा ज्याउन गुमाउनेको संख्या ६ हजार ६०६ जना रहेको छ । यो भनेको औषत वार्षिक रुपमा १ हजार ३२१ जना हुन आउँछन् ।  

पछिल्ला १७ वर्षको तथ्यांक हेर्दा रोजगारीमा विदेश गएका १४ हजार ८१७ जना नेपालीले विदेशमा आफ्नो ज्यान गुमाएका छन् । यो अवधिमा ३ हजार ९२४ जना अंगभंग भएका छन् । मन्त्रालयको १७ वर्षको तथ्यांक हेर्दा रोजगारीका लागि विदेश गएका नेपालीमध्ये औषतमा ८७१ जनाले वार्षिक रुपमा ज्यान गुमाएको देखिन्छ । कुनै वर्ष अलि बढी र कुनै वर्ष केही कम भए पनि नेपालीहरुले विदेशमा ज्यान गुमाने क्रममा भने कुनै कमी आएको छैन् । नत राज्यले पनि त्यस तर्फ सोचेको देखिन्छ ।

मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष (आव) मा मात्रै रोजगारीमा गएका १ हजार ५१७ जना नेपालीले विदेशी भूमिमा आफ्नो ज्यान गुमाउनु पर्यो । गत आवमा ८६७ जना अंगभंग भए । त्यस्तै तथ्याङ्कअनुसार अघिल्लो आव २०८०/८१ मा १ हजार ३४६ जना, आव २०७९/८० मा १ हजार २१ जना, २०७८/७९ मा १ हजार ४७९ जना र २०७७/७८ मा १ हजार २४३ जनाले ज्यान गुमाएका छन् । यी त प्रतिनिधि मात्रै हुन् । रोजगारीका लागि विदेशमा गएकाहरुले हरेक वर्ष बाकसमा आउनु पर्ने बाध्यता रहेको छ । हाल सरकारले वैदेशिक रोजगारीको लागि संस्थागतरुपमा १०९ वटा र व्यक्तिगतरुपमा १५० वटाभन्दा बढी मुलुक खुला गरेको छ । यी देशहरुमध्ये नेपालबाट रोजगारीका लागि जाने धेरै युवाहरु खाडी तथा मलेसियाको रोजगार बजारमा जाने गरेका छन् । नेपाली युवाहरु मलेसिया, कतार, साउदी अरबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमन र कुवेत जाने गरेका छन् भने त्यसपछि दक्षिण कोरिया, जापान, इजरायल, पोर्चुगललगायतका युरोपियन मुलुकमा समेत काम गर्नका लागि गएको पाइन्छ । सयभन्दा बढी मुलुकमा रोजगारीका लागि जाँदा सबैभन्दा बढी मलेसिया र खाडीका छ वटा राष्ट्रहरुमा युवाहरुले ज्यान गुमाएको पाइन्छ । साथै, घरेलुलगायतका हिंसाको शिकार भएको पाइन्छ ।

सरकारी निकायहरुले सडक दुर्घटना र स्वास्थ्य समस्या विदेशमा श्रमिक मृत्युको मुख्य कारण मानेका छन् ।  तर विज्ञहरु भने वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नसक्दा अवस्था गम्भिर रहेको बताउँछन् । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित गर्नका लागि आवश्यक पर्ने नीति नियम नै बनाउन नसकेको श्रम विज्ञ डा. गणेश गुरुङको भनाइ छ । रोजगारीमा जानु पूर्वको पूर्व तयारी नगरेसम्म विदेशबाट बाकसमा लाश आउने क्रम नरोकिने उनको भनाइ छ । ‘विदेशमा मृत्यु हुने कारण खोजेर राज्यले त्यसलाई न्यूनिकरण गर्नका लागि काम गर्नु पर्छ । तब मात्रै मृत्युहुनेको संख्या कम हुन्छ,’ उनले भने, ‘अहिले ओरेन्टेश नाम मात्रैको भएको छ । यसलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।’ 

नेपालको स्वास्थ्य परीक्षण पनि राम्रो नभएको र त्यसले पनि विदेशमा जाँदा समस्या आएको गुरुङको भनाइ । श्रमिकको क्षमता अभिवृद्धिका लागि खोलिएका सरकारी संस्थाहरुले सोही अनुसार काम गर्न सकेको खण्डमा पनि यस्ता समस्या कम हुने उनले बताए । ‘विदेशमा सडक दुर्घटनाबाट मृत्यु हुनेको नेपालीको संख्या धेरै रहेको भनिन्छ । त्यसो हो भने त्यसलाई कम गर्नका लागि सडक सुरक्षाका विषयमा जानकारी गराउनु प¥यो,’ उनले भने । 

नेपालबाट व्यक्तिगत रुपमा पनि श्रमिकहरु विदेश जाने भएकाले उनीहरु पनि यस विषयमा सचेत भएर जानु पर्ने उनको भनाइ छ । विदेशका विषयमा कुनै पनि जानकारी नै नभएका व्यक्तिहरु पनि जाने भएकाले उनीहरुलाई जानकार बनाउने दायित्व राज्यको भएको डा. गुरुङको भनाइ छ । आफूले गर्ने कामको विषयमा जानकारी लिने, सिप सिकेर जाने र कम्पनीका विषयमा जानकारी लिएर जान उनले रोजगारीका लागि विदेश जानेहरुलाई उनले आग्रह गरे ।  सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित गर्नका लागि आवश्यक नीति नियम बनाए पनि कार्यान्वयन पक्ष फितलो बन्दा वैदेशिक रोजगारीमा ज्यान गुमाउने र अङ्गभङ्ग हुने अवस्था नरोकिएको श्रम विज्ञ डा. गणेश गुरुङले बताए । मुलुकको अर्थतन्त्रमा यति ठूलो योगदान गर्ने समूहलाई सरकारले बेवास्ता गर्दा समस्याहरु समाधान हुन नसकेको उनको भनाइ छ । श्रमिकलाई दक्ष बनाएर पठाउन सकेको खण्डमा रेमिट्यान्स पनि बढी आउने र उनीहरुको ज्यान पनि सुरक्षित हुने उनी बताउँछन् । 

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्धारिका उप्रेती भने बोर्डल श्रमिकहरुलाई विदेश जानु पूर्व गर्नु पर्ने पूर्व तयारीहरु गरेर पठाउने गरेको बताउँछन् । बोर्डले जानु पूर्वको अभिमुखिकरण गराउने, मृत्यु पछि परिवारलाई राहत र घाइते भएको खण्डमा उद्धार गर्ने कार्य गरिरहेको उनी बताउँछन् । विदेशमा मृत्युहुनेमध्ये दुर्घटना बढी रहेको र सुतेको ठाउँमा नै मृत्यु हुने गरेकाले यस विषयमा विदेश जानु पूर्व अभिमुखिकरण गराउने काम बोर्डले गरिरहेको उनको भनाइ छ ।

 कुन बर्ष कति भित्रियो रेमिटेन्स ? 

राष्ट्र बैंकको तथ्याकंअनुसार, आर्थिक वर्ष २०६६/६७ मा २ खर्ब ३१ अर्ब ७० करोड रुपैयाँ, २०६७/६८ मा २ खर्ब ५३ अर्ब ६० करोड रुपैयाँ, २०६८/६९ मा ३ खर्ब ५९ अर्ब ६० करोड रुपैयाँ र २०६९/७० मा ४ खर्ब ३४ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । 

यस्तै, आर्थिक वर्ष २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ र २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स वैदेशिक रोजगारीबाट नेपालमा आएको छ ।   आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब ७९ अर्ब ३० करोड रुपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ,  २०७७/७८ मा ९ खर्ब ६१ अर्ब १० करोड रुपैयाँ, २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ, २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ र २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स वैदेशिक रोजगारीमा गएकाहरूले पठाएका छन् ।

यस्तै चालु आर्थिक बर्ष २०८१/८२ को एघार महिना (साउनदेखि जेठसम्म) १५  खर्ब  ३२ अर्ब  ९३ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको