नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको आयोजनामा बैंक तथा वित्तीय संस्थासँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम भदौ १५ गते, आइतबारका दिन सुर्खेतमा सम्पन्न गरिएको हो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक श्री सुशीलदेव सुवेदीको प्रमुख उपस्थितिसहित कर्णाली प्रदेशका वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, जीवन तथा निर्जीवन बीमा कम्पनीहरू, लघु बीमकहरूका प्रदेश तथा शाखा कार्यालय प्रमुखहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले वित्तीय क्षेत्रको स्थायित्व, जनताको धनसम्पत्तिको सुरक्षा र बीमा तथा बैंकिङ क्षेत्रबीचको पारस्परिक विश्वास कायम गर्न नियामक निकायहरूबीच घनिष्ठ समन्वय आवश्यक रहेको बताए। उनले बैंकबाट कर्जा प्रवाह गर्दा धितोको बीमा केबल कर्जा रकम बराबरको मात्र बीमा गर्ने प्रचलनले न्यून बीमाङ्क कायम हुने र दाबी भुक्तानीमा बीमितले क्षति भएको वास्तविक सम्पत्ति भन्दा न्यून क्षतिपूर्ति रकम पाउने समस्या देखिएको भन्दै आवश्यक सहजीकरणमार्फत सम्पूर्ण सम्पत्तिको बीमा हुने व्यवस्था गर्नुपर्ने सुझावसमेत कार्यक्रममा राखे ।
यसै क्रममा, सम्पत्ति शुद्धीकरण निवारण शाखाका प्रमुख श्री सोडारीले बैंक तथा बीमा क्षेत्रबीच समन्वयद्वारा ग्राहक पहिचान (केवाईसी) र जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउँदै मुलुकलाई 'ग्रे लिस्ट' बाट छिटो बाहिर ल्याउन गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए।
नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयका प्रमुख श्री रेग्मीले बैंक र बीमा दुवै क्षेत्र अर्थतन्त्रका आधारस्तम्भ भएको उल्लेख गर्दै, दुवै नियामक निकायले सहकार्य गर्दै समस्याको समाधानमा अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए। कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख श्री निलप्रसाद लामिछानेले कर्णालीमा बीमा क्षेत्रको वर्तमान अवस्था र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्दै बैंक तथा बीमा क्षेत्रबीच रहेका साझा समस्याहरू समाधान गर्न समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस