देशकै ठूला व्यवसायिक घरानामध्ये एक, खेतान समूह आधिकारिक रूपमा फोन पेमा प्रवेश गरेको छ। समूहले कम्पनीको २० प्रतिशत सेयर खरिद गर्दै डिजिटल भुक्तानी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको हो।
फोन पेमा लगानी गर्न खेतान समूह र कम्पनीबीच भएको प्रारम्भिक सम्झौता नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरिएको थियो। राष्ट्र बैंकले आवश्यक ‘फिट एन्ड प्रोपार टेस्ट’ सम्पन्न गरी समूहलाई योग्य ठहर गरेपछि सेयर खरिद प्रक्रिया अनुमोदन भएको हो। कम्पनीले चाँडै एक औपचारिक समारोहमार्फत लगानीबारे घोषणा गर्ने तयारी गरेको छ।
कुल २० प्रतिशत सेयरमध्ये १४ प्रतिशत अध्यक्ष राजेन्द्र खेतानकै नाममा रहेको छ। बाँकी ६ प्रतिशत भने समूहसँग आवद्ध विभिन्न लगानी संस्थाहरु—र्यापिड इन्भेष्टमेन्ट, नेपाल इम्प्याक्ट फन्ड वान, नेपाल इन्फ्रास्ट्रक्चर फन्ड, ग्लोबल इक्विटी फन्ड, स्वेडा इक्विटी फन्ड र लक्ष्मी माइक्रो इन्भेष्टमेन्टमार्फत खरिद गरिएको हो।
फोन पेको चुक्ता पुँजी हाल ५० करोड ५० लाख रुपैयाँ छ। यसपटकको सेयर खरिद–बिक्रीसँगै कम्पनीको मूल्यांकन ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ, जसलाई नेपालमा फिनटेक कम्पनीको बढ्दो आकर्षणको संकेतका रूपमा हेरिएको छ।
फोन पे एफ वान सफ्टको सहायक कम्पनी हो, जसले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति पाएको छ। कम्पनीले मोबाइल र क्यूआरमार्फत देशभर भुक्तानी सेवा दिँदै आएको छ। साथै भारतको यूपीआई प्रणालीसँगको एकीकरणपछि भारतीय प्रयोगकर्ताले समेत नेपालमा फोन पे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध भएको छ।
हाल फोन पेको अध्यक्ष सशिन जोशी छन्। सञ्चालक मण्डलमा सिद्धान्त ठकुरी र सम्भव सिरोहिया रहेका छन् भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमार हुन्।
अध्यक्ष राजेन्द्र खेतानको नेतृत्वमा रहेको खेतान समूह नेपालका प्रमुख व्यवसायिक घरानामध्ये एक हो। समूहको लगानी वित्तीय संस्था, बीमा, सूचना प्रविधि, भेञ्चर क्यापिटल लगायतका क्षेत्रमा फैलिएको छ। फोन पेमा गरिएको हालको लगानी समूहको डिजिटल अर्थतन्त्रतर्फको गम्भीर प्रवेशका रूपमा लिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस