Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक पारदर्शिता र व्यवसायिक मोडेलबिना जलविद्युत् दीगो हुँदैन - उर्जामन्त्री खड्का

अर्थ संसार

विहीबार, १९ भदौ २०८२, १३ : २६ मा प्रकाशित

आर्थिक पारदर्शिता र व्यवसायिक मोडेलबिना जलविद्युत् दीगो हुँदैन - उर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जनताले आफ्नै पहलमा अन्धकार हटाउने गरी विद्युत् व्यवस्थापन गरेको कार्यलाई प्रशंसनीय भन्दै यसको व्यवसायिक विस्तार आवश्यक रहेको बताएका छन्। राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज, नेपालको ८औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खड्काले सरकारले यस्ता पहलकदमीमा निरन्तर सहयोग गर्दै आएको र अझ व्यवस्थित र दीगो मोडेलमा लैजान आवश्यक रहेको बताए।

उनका अनुसार, दुर्गम र विकट स्थानसम्म विद्युत् पुर्‍याउनु समाजको असाधारण उपलब्धि हो। हाल देशभर करिब २,००० संघ-संस्था तथा व्यक्तिहरू संलग्न रही ४० मेगावाटभन्दा बढी लघु तथा साना जलविद्युत् परियोजनाबाट विद्युत् उत्पादन भइरहेको जानकारी उनले दिए। मन्त्री खड्काले अप्ठेरा भूगोलमा विद्युत् विस्तारले सामाजिक–आर्थिक रूपान्तरणमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै यसलाई दीर्घकालीनरूपमा टिकाइ राख्न व्यावसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य भएको बताए।

उनले भने, ‘ऋणलाई अनुदानजस्तो ठानेर वितरण गर्दा आर्थिक अनुशासनमा समस्या आउँछ, त्यसैले संस्थाहरूलाई व्यावसायिक मोडेलमा अघि बढाउन जरुरी छ।’

सरकारले राष्ट्रिय प्रसारण ग्रीडलाई प्रत्येक स्थानीय तहसम्म विस्तार गर्ने अभियानलाई प्राथमिकता दिइरहेको र २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खड्काले ऊर्जा क्षेत्रमा नीतिगत सुधारले पारदर्शिता र दीगो प्रणालीतर्फ सरकारलाई अघि बढाएको धारणा राखे। कार्यक्रम समाजका अध्यक्ष नारायणध्वज खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र नेपालका कार्यकारी निर्देशक नवराज ढकाल लगायत विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान गरिएको थियो।

सभामा वक्ताहरूले लघु तथा साना जलविद्युत् परियोजनाले ग्रामीण जीवनमा ल्याएको परिवर्तन र यसको दीगो विकासका लागि आवश्यक नीतिगत तथा व्यवस्थापकीय सुधारका विषयमा आफ्ना विचार राखेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको