दीपक खड्काले आफू असत्य, अन्याय र दमनविरुद्ध सधैं संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले हालै आफूलाई नियन्त्रणमा लिइएको घटनालाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित कदम भएको दाबी गरेका छन्।
खड्काका अनुसार २०८२ साल चैत १५ गते बिहान सबेरै केही व्यक्तिहरूले कुनै स्पष्ट जानकारी वा कानुनी प्रक्रिया बिना नै उनको निवासबाट नियन्त्रणमा लिएका थिए। पछि उनीहरू केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का कर्मचारी रहेको थाहा भएको उनले उल्लेख गरेका छन्। ‘जरुरी पक्राउ पुर्जी’को नाममा बिना ठोस आधार नियन्त्रणमा लिइनु गैरकानुनी र गैरजिम्मेवार भएको उनको आरोप छ।
उनले यस घटनाले देशमा कानुनी शासन कमजोर हुँदै गएको संकेत दिएको र व्यक्तिगत स्वतन्त्रता तथा अधिकारमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। खड्काले आफूविरुद्ध सम्पत्ति शुद्धिकरण, आन्तरिक राजश्व विभाग तथा राजस्व अनुसन्धान विभागमार्फत गरिएको अनुसन्धान, पक्राउ र हिरासतलाई समेत प्रतिशोधपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।
यसैबीच, सम्मानित अदालतले सरकारद्वारा कानुनको दुरुपयोग भएको विषयमा टिप्पणी गर्दै यथार्थपरक आदेश दिएको भन्दै उनले न्यायप्रति विश्वास अझ मजबुत बनेको बताएका छन्।
खड्काले सत्यतथ्य उजागर गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जालप्रति धन्यवाद व्यक्त गर्दै केही मिडियाले चरित्र हत्या गर्ने तथा परिवारमाथि मानसिक दबाब सिर्जना गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका छन्।
उनले आफू राष्ट्रिय राजनीतिमा प्रवेश गर्नु अघि नै व्यवसायमार्फत स्थापित भइसकेको र राज्यलाई ठूलो कर योगदान गर्ने व्यक्ति भएको दाबी गरेका छन्। राजनीति आफ्नो लागि पेशा नभई सेवा गर्ने माध्यम भएको उल्लेख गर्दै देश र जनताको हितप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
खड्काले सबै राजनीतिज्ञ पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै आफूविरुद्ध लागेका आरोपहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग दोहोर्याएका छन्। तर, पर्याप्त प्रमाण र विधि प्रक्रिया बिना गरिएका कारबाहीले राज्यप्रति नै गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस