Like us!
Follow us!
Connect us!
Watch us!

आयल निगमले माग्यो बूढीगण्डकी जलविद्युत् आयोजनाको २५ प्रतिशत संस्थापक सेयर

बुधबार, २४ माघ २०७४, ११ : ४० मा प्रकाशित

आयल निगमले माग्यो बूढीगण्डकी जलविद्युत् आयोजनाको  २५ प्रतिशत संस्थापक सेयर

अर्थ संसार, काठमाडौं– नेपाल आयल निगमले बूढीगण्डकी जलविद्युत् आयोजनामा २५ प्रतिशत संस्थापक सेयर मागेको छ ।

गत ३ वर्षदेखि उक्त आयोजनाका लागि मासिक करीब ८० करोड रुपैयाँसम्म निगमले सङ्कलन गर्दै आएकाले संस्थागत सेयर माग गरेको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

इन्धनमा लगाइएको करबाट बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि चालू आवको पुससम्ममा १५ अर्ब १२ करोड रुपैयाँ सङ्कलन भइसकेको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए ।

बूढीगण्डकी आयोजना बनाउन भन्दै सरकारले आर्थिक वर्ष २०७२/७३ देखि इन्धनमा कर लगाउँदै आएको छ ।

हाल आयात हुने गरेको इन्धनमा भन्सार विन्दुमै पूर्वाधार कर भनी सङ्कलन हुने गरेको छ । उक्त रकम सरकारी ढुकुटीमा जम्मा भएको निगमले बताएको हो । निगमले पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँका दरले पूर्वाधार कर लगाउँदै आएको छ । तर, मट्टीतेल र एलपी ग्यासमा भने उक्त कर लगाएको छैन ।

१२ सय मेगावाटको बूढीगण्डकी आयोजनाको कुल निर्माण लागत करीब २ खर्ब ५० अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ । पछिल्लो समय मुलुकमा इन्धनको खपत क्रमिक रूपमा बढ्दै जाँदा १० वर्षको अवधिमा निर्माण लागतको ५० प्रतिशतभन्दा बढी रकम निगम स्वयम्ले नै सङ्कलन गर्न सक्ने दाबी गरेको छ ।

यसरी आयोजनामा निगमको पनि उत्तिकै योगदान रहेको भन्दै सेयर पाउनुपर्ने माग गरेको शाहले बताए । सञ्चय कोषले पनि लगानी गरिरहेकाले सोही मोडलमा निगमले शेयर माग गरेको हो ।

आयोजनाको सेयर माग गर्दै आपूर्ति मन्त्रालयमा पत्राचारसमेत गरिसकेको निगमले बताएको छ । पछिल्लो समय निगमले घाटा/नाफा बेहोरेको अवस्थामा अनिवार्य रूपमा रकम बुझाउँदै आएको छ ।

यस्तोमा कम्तीमा पनि २५ प्रतिशत सेयर निगमलाई प्रदान गरी निगमको आर्थिक स्थिति बलियो बनाउन सहयोग गर्न भन्दै मन्त्रालयमा पत्राचार गरेको निगमको भनाइ छ । मन्त्रालय स्रोतका अनुसार निगमले माग गरेको शेयर अंश उपयुक्त रहेको बताइएको छ ।

साथै, कति प्रतिशत सेयर दिँदा ठीक हुन्छ भन्ने विषयमा छलफल गरी आगामी दिनमा उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गर्ने मन्त्रालयको तयारी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको