सामाजिक सञ्जाल बन्द, कानूनी शासनको कमजोर अवस्था र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले आज राजधानीमा आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले गरेको कडा हस्तक्षेपलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कठोर शब्दमा निन्दा गरेको छ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा, निहत्था युवामाथि गरिएको बर्बर दमनलाई "आमहत्याको रूप"मा व्याख्या गर्दै यसप्रकारको कदमले सरकारको वैधानिकता समाप्त भएको टिप्पणी गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “सन्तानकै रगतमा हात रंगाएर सत्ता लम्ब्याउने प्रयास अब जनताले सहने छैनन्, यो शासनविरुद्ध जनप्रतिवाद हुनेछ।”
रास्वपाले तत्काल प्रधानमन्त्रीलाई पदत्याग गर्न माग गर्दै गृहमन्त्रीसहित दोषीमाथि कारबाही गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको आवश्यकता औंल्याएको छ। साथै, पार्टीले घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई दबाब दिएको छ।
विज्ञप्तिमा हालको संसदलाई "असमर्थ र वैधताविहीन" भन्दै कांग्रेस र एमालेको वर्चस्वले राष्ट्रिय मुद्दा समाधान गर्न नसकेको दाबी गर्दै ताजा जनादेश (अर्ली इलेक्सन) को मागसमेत गरिएको छ।
सरकारको दमनमा ज्यान गुमाएका जेनजी युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रास्वपाले आगामी रणनीति तय गर्न सचिवालय बैठक जारी रहेको जानकारी गराएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस