Like us!
Follow us!
Connect us!
Watch us!

अब सरकारले जनताको माग पूरा गर्नुपर्छ - दुर्गा प्रसाईं

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, ०८ : ४९ मा प्रकाशित

अब सरकारले जनताको माग पूरा गर्नुपर्छ - दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी पुस्तालाई धन्यवाद दिँदै अब बन्ने सरकारले जनताका प्रमुख मागहरू पूरा गर्नुपर्ने बताएका छन्।

उनले चर्को ब्याजदरका कारण घरबार गुमाएका नेपालीलाई जग्गा–घर फिर्ता गर्ने, गरिबको ऋण मिनाहा गर्ने, सहकारी पीडितको रकम सरकारले जिम्मा लिने र मध्यम वर्गलाई २५ वर्षसम्म ५% ब्याजदरमा ऋण तिर्ने व्यवस्था मिलाउनुपर्ने माग दोहोर्‍याए।

साथै, विदेशमा रहेका १ करोड ६० लाख युवालाई स्वदेश फर्कने वातावरण बनाउन र ७ हजारभन्दा बढी विदेशी जेलमा रहेका नेपालीलाई उद्धार गर्नुपर्नेमा जोड दिए। नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दु अधिराज्य पुनःस्थापना गर्ने अभियानलाई निरन्तर अघि बढाउने बताउँदै उनले आफूलाई मन्त्री वा प्रधानमन्त्री बन्ने व्यक्तिगत चाहना नभएको स्पष्ट पारे।

यस्तो छ उनले लेखेको स्टाटस

जिएनजी पुस्तालाई धन्यवाद। 
अब जिएनजीको नेतृत्वमा बन्ने सरकारले गर्नुपर्ने महत्वपूर्ण कामहरु
२०७९ साल फागुन १ गते, मेचीको बगरबाट राजाको हातले दियो बालेर सुरु भएको हाम्रो अभियान आज आएर आंशिक रूपमा भए पनि सफलताको उचाइमा पुगेको छ। शोक र वियोगका पीडाबीच पनि, हाम्रा शब्द र सपनाले यथार्थको रुप लिएको हुँदा हामी आज अत्यन्तै हर्षित छौँ।
वर्षौँदेखि हामीले उद्घोष गर्दै आएका सत्यहरू आज प्रमाणित भएका छन्। त्यसैले हर्षका आँसु र वियोगका आँसु आज एकसाथ हाम्रो आँखाबाट बगिरहेका छन्।
अब हाम्रो एउटै लक्ष्य र प्रतिबद्धता यो हो—
बैंक, सहकारी र लघुवित्तको चर्को चक्रवर्ती ब्याजका कारण घरवारविहीन बनेका लाखौँ नेपाली नागरिकलाई आफ्नै घर–जग्गा फिर्ता गराउनु।
२० लाखभन्दा मुनिका गरिब नेपालीको ऋण मिनाहा गर्नु, र सोभन्दा माथिका मध्यम वर्गीय नेपाली व्यापारीलाई २५ वर्षसम्म ५% ब्याजदरमा ऋण तिर्ने व्यवस्था मिलाउनु।
सहकारी पीडितको ढुवेको रकम सरकारले जिम्मा लिएर फिर्ता गरिदिनु।
१ करोड ६० लाखभन्दा बढी परदेशिएका नेपाली युवालाई स्वदेश फर्केर जीवन पुनःनिर्माण गर्ने वातावरण सिर्जना गर्नु।
७ हजारभन्दा बढी विदेशी जेलमा रहेका नेपाली युवालाई उद्धार गरी सुरक्षित नेपाल फर्काउनु।
नेपाललाई बैदिक सनातन धर्मसहितको धार्मिक स्वतन्त्र हिन्दू अधिराज्यका रूपमा पुनःस्थापना गर्नु।
हाम्रो आन्दोलन, हाम्रो अभियान अब यही ध्येयप्रति समर्पित हुनेछ। नेपाली जनताको पीडा, अभाव र छटपटाहटका घाउमा मलमपट्टी लगाउन हामी आफ्नो तन, मन, धन, वचन र कर्मसहित सधैं नागरिक सेवामा तत्पर रहनेछौँ।
यो आन्दोलनलाई छोटो समयमा यति ठूलो उचाइमा पुयाउँदै, परिवर्तनको ढोका खोल्न सफल भएका जेन–जी पुस्ताका भाइबहिनीहरूप्रति हामी उच्च सम्मान र आभार प्रकट गर्दछौँ।
हामीलाई मन्त्री, प्रधानमन्त्री वा सांसद बन्ने कुनै रहर छैन। हाम्रो चाहना एउटै हो— हामीले उठाएका नेपाली जनताको माग र मुद्दाहरू अब बन्ने सरकारले पूरा गरिदियोस्।
अन्त्यमा, भगवती माता दुर्गाको चरणमा हात जोडेर यही प्रार्थना गर्दछौँ— अब कुनै पनि नेपाली नागरिक, विशेषगरी जेन–जी पुस्ताका छोराछोरीहरूले आफ्नो आमाबाबु वा अर्को पुस्ताका लागि जीवन बलिदान दिन नपरोस्।
जय देश! जय नागरिक! धन्यवाद।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको