Like us!
Follow us!
Connect us!
Watch us!

जेन जी क्रान्तिका उपलब्धि हाइज्याक हुने सम्भावना कति?

उमङ्ग जङ्ग शाह, शोधकर्ता, राजनीतिशास्त्र

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, १९ : ४० मा प्रकाशित

जेन जी क्रान्तिका उपलब्धि हाइज्याक हुने सम्भावना कति?

जेन-जेड पुस्ताको सक्रियतामा भ्रष्टाचारको निभमा अडिएको अहङ्कारी गठबन्धनको सरकारलाई क्षणभरमै घुँडा टेकाइदिएको छ। चर्चिलले दोस्रो विश्व युद्धताका बनाएको जस्तो गठबन्धन सङ्क्रमणकालमा उपयोगी हुँदो हो, वैदेशिक शत्रु-शक्तिसँग लड्न राष्ट्रलाई बल पुग्दो हो, तर सामान्य अवस्थामा यसले लोकतन्त्रको छातीमा निरंकुशताको बुट बजार्छ र बलमिचाइमा सामान्य देशका नागरिक पर्छन्। पछिल्लो गठबन्धन सरकारले त्यस्ता अनेक उदाहरणहरू समेट्यो जसले नेपाली नागरिकको लोकतान्त्रिक अधिकारमाथि धाबा बोल्यो। नागरिकको आफ्नो विचार व्यक्त गर्न पाउने अधिकार कुण्ठित गर्नेदेखि लोकतान्त्रिक पद्धतिबाट आयोजना गरिएका विरोधसभाहरूलाई म्यानिपुलेट गर्ने र सर्वसाधारणमाथि निर्ममतापूर्वक गोली बर्साउने काम समेत गर्न चुकेन सरकार।

एक ढङ्गले हेर्ने हो भने कुनै पनि वाद व्यवस्थाले एक स्तरमा नागरिकहरूलाई हानि गर्छ नै जसमा लोकतन्त्र सबैभन्दा कम हानि गर्ने व्यवस्थाको रूपमा राजनीतिशास्त्रीहरूले व्याख्या गर्दै आएका छन्। बहुमतमा मात्र आधारित लोकतन्त्र कठोर हुन्छ जुन अल्पसंख्यक तथा बहुसंख्यक भन्दा भिन्न विचार राख्ने समूहका लागि हानिकारक हुन सक्छ जसलाई विचारमूलक लोकतन्त्रले सुधार्छ। खासगरी बहुलवादको माध्यमबाट संवाद आपसी मान्यता र न्यायपूर्ण परिणामहरूलाई प्रोत्साहन गर्दै लोकतन्त्रको अभ्यास गर्दा समाजले समतामूलक ढंगले मलजल हुने मौका प्राप्त गर्दछ।

बहुमतमा आधारित पूर्ण शक्तिको नशामा पछिल्लो कांग्रेस–एमाले गठबन्धनको सरकारले जसरी नागरिक समूह, दबाब समूह तथा लोकतन्त्रको महत्वपूर्ण एजेन्सी स्वयं नेपाली नागरिकको आवाजलाई वेवास्ता तथा दबाउने कार्य गर्यो जसले लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउनुको साटो सङ्क्रमणकालीन अवस्थातर्फ धकेलिदियो। जनताले उठाएको प्रश्नलाई वेवास्ता गर्दै जनताले मन पराएका कुलमान घिसिङलाई कारबाही हुँदा होस् या यो देशमा केही गर्छु भन्ने नेपाली वैज्ञानिकलाई दुरुत्साहित गराउँदा, सरकारले सुधारिएको लोकतन्त्रको झल्को दिन सकेन बरू बढ्दो निरङ्कुशता जनताले महसुस गरे।

सन्तुलन बिनाको पूर्ण शक्तिले समाजको मात्र खति हुँदैन स्वयं शक्ति धारण गर्ने शासकको समेत  दुर्गति हुन्छ। विश्वको राजनीतिक इतिहास पल्टाएर  हेर्नु होस् तपाईंले यस्ता अनेकौँ उदाहरणहरू पाउन सक्नुहुन्छ । ईसापूर्व ४४ मा जुलियस सिजरले रोमको इतिहासमै पहिलो पल्ट आजीवन तानाशाहको उपाधि (डिक्टेटर) प्राप्त गरेको करिब एक महिनामै उनको हत्या भयो। यस पछाडि रोमको इतिहासमा पूर्ण शक्ति प्राप्त गर्ने धेरै शासकहरू उक्त सिलसिलाको शिकार भए। रोमकै अर्का शासक क्यालिग्युला त आफ्नो हत्या हुन्छ भनेर यति सशंकित भएकी उनले दरबार बाहिर पाइलै टेक्न छाडे र अन्यबाट षड्यन्त्र हुने डरमा आफ्नै बहिनीसँगै विवाह समेत गरेको भन्ने कुराको विश्व राजनीतिक इतिहासमा चर्चा पाइन्छ।

धेरै पछाडि जानै पर्दैन लेनिनको बोल्सेभिक पार्टीले मेन्सेभिक, एसआर लगायत अन्य गैर बोल्सेभिक पार्टीलाई निषेध गरे पश्चात् उनले आफ्नो पार्टीलाई शक्तिशाली त बनाए तर उनको निर्ममतापूर्ण हत्या गर्ने प्रयास गरियो। एउटा प्रयासमा लेनिनको फोक्सोसम्मै गोली पुगेको थियो। स्टालिनले यस्तै षड्यन्त्रको शंकामा अनेक हत्याहरू गरे। अन्तिममा उनलाई विष खुवाइएको वा उपचार नदिई मारिएको भन्ने समेत केही चर्चा इतिहासमा रहेको छ। दशकौँ सम्म पूर्ण शक्ति सम्हालेका गद्दाफीको अन्त्य निकै दयनीय थियो। असन्तुलित शक्ति समाज र शासक सबैका लागि घातक रहन्छ जसलाई लोकतन्त्रको लगामले मात्र नियन्त्रण गर्न सक्छ, विचारमूलक र सहभागीतामूलक लोकतन्त्रले मात्र।

विडम्बना संसदमा आवाज उठाउनका लागि प्रभावकारी विपक्षी भूमिका नै नरहने गरी ठूलो मात्रामा मत प्राप्त गरेका पार्टीहरूले गठबन्धन बनाउँदा लोकतान्त्रिक अभ्यासलाई सिधा असर पर्यो। जसको साइडइफेक्ट जनताहरूले अनेक किसिमबाट महसुस गरे। नागरिकहरूको आवाजलाई समेत वेवास्ता गरी पर्याप्त कूटनीतिक प्रयासबिना नै सोसल मिडियामाथि लादिएको प्रतिबन्धलाई  तानाशाही प्रवृत्तिको एक  उदाहरणको रुपमा लिन सकिन्छ। भर्खरैका कलिला विद्यार्थीहरूमाथि वर्षाइएका गोलीलाई व्याख्या गर्ने शब्द नै छैनन्। यस्ता अपराध गर्नेले हदैसम्मको न्यायिक कारबाही लोकतन्त्रमा भोग्नै पर्छ। तानाशाही व्यवहारले शासक मात्र डुबेनन् नेपालका सिंहदरबार, सर्वोच्च अदालत जस्ता महत्वपूर्ण संरचनाहरूसँगै जलेर नष्ट भए। साथसाथै ठूलो जनधनको क्षति भयो।

राष्ट्रको सान बोकेका संरचनाहरू नष्ट हुनु पक्कै पीडादायक विषय हो। भिडमा पक्कै पनि अनेक स्वार्थ समूह मिसिएका हुन्छन् र यिनीहरू भिडको आडमा आफ्नो स्वार्थ सिद्ध गर्न पछि पर्दैनन्। बजारमा कुरा भएजस्तै कति समूह परिचालित पनि होलान् जसलाई अन्देखा गर्न मिल्दैन र छानबिनको दायरामा ल्याउनै पर्छ। तथापि सामान्य दङ्गाको अवस्थामा राजनीतिशास्त्रीहरूको कुरा सुन्ने हो भने प्रदर्शनमा प्रतीकात्मक लक्ष्य प्रदर्शनकारीहरूले राख्दछन् जसमा सत्ताका प्रत्यक्ष प्रतीकका रूपमा रहेका भौतिक संरचनाहरूमाथि आक्रमण हुनु स्वभाविक हो। सरकारी कार्यालय, बैंक, सालिकहरू, आदि त्यसमा पर्दछन्। तसर्थ जेन-जेड आन्दोलनमा देखिएको भौतिक विनाशलाई विध्वंसको रूपमा मात्र नहेरी मानवीय तथा राजनीतिक स्वभावसँग समेत जोडेर हेर्दा आन्दोलनकारीहरूको उक्त कार्यलाई न्यायपूर्ण ढंगले विश्लेषण गर्न सकिएला। फ्रान्सेली लगायत विश्वभरका क्रान्तिहरूमा संसद भवन, दरबार आदि जलाइएको अनेकौँ उदाहरणहरू छन्।

राज्य यस अवस्थामा पुग्नुको कारण पक्कै पूर्व प्रधानमन्त्री केपी ओलीको दम्भ र उनको दम्भलाई साथ दिने गठबन्धनका शीर्ष नेताहरू हुन् तर व्यक्तिका साथै पार्टीभित्र लोकतान्त्रिक अभ्यासको कमी, पूर्ण विकसित लोकतन्त्रको नजिक पुग्दा समेत परम्परागत चाकरीवाद हावी हुनु आदि समेत यसका कारणहरू हुन्। वर्षौँदेखि नेपाली जनताले खेप्दै आएको भ्रष्टाचारको प्रकोप र सुशासनको अभावलाई समेत बिर्सनु हुँदैन। कागजमा लेखिएर वा व्यवस्थाको रूपमा चित्रण गरिएर मात्र लोकतन्त्रको सुदृढीकरण हुन सक्दैन। लोकतन्त्र व्यवहार र परम्परामा व्याप्त हुन जरुरी छ। जुनसुकै शक्ति वा समूह आएपनि संस्थाभित्र नै लोकतान्त्रिक पद्धतिको अवलम्बन गरिएको छैन भने लोकतन्त्रमाथि पटकपटक तानाशाह प्रवृत्ति हावी हुन्छ नै।

आज ३५ वर्ष लामो शासनको इतिहास बोकेका नेपालका प्रमुख दलहरूले बनाएका संरचना नष्ट भएको छ। शीर्षस्थलका नेता समेत बेज्जतिमा पर्नुले प्रतिशोधात्मक प्रतिकार नहोला भन्न सकिँदै वा आफ्नो गुम्दै गरेको शक्तिलाई पुनःप्राप्त गर्न प्रयास समेत नहोला पनि भन्न सकिँदैन। सन् १९९१ मा सोभियत सङ्घ विघटन हुँदै गर्दा पार्टीका कट्टरपन्थी नेताहरू र सेना मिलेर कू गर्ने असफल प्रयास गरेकै हुन्। नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न। फ्रान्समा राजतन्त्र फालेको केही समय पश्चात् नै नयाँ खासगरी समाजवाद उन्मुख व्यवस्थाले कन्जरभेटिभ तथा सम्भ्रान्त वर्गलाई प्रतिकूल असर पर्ने भएपछि शक्ति आफ्नो हातमा पारेर हजारौँ मजदुरहरूको आन्दोलनलाई निर्ममतापूर्वक ढङ्गले दबाए जसरी यहाँ पनि भ्रष्टाचारको आडमा व्यापार व्यवसायमा सिन्डिकेट गरेर अथाह सम्पत्ति आर्जन गर्न पल्केकाहरू चुप लागेर पक्कै बस्ने छैनन्। नेपालकै इतिहासक्रमलाई हेर्ने हो भने पनि विसं २००७ साल ४६ साल ६२-६३ साल आदिको आन्दोलनपश्चात खाने अनुहार मात्र फेरिएको र समस्या जस्ताको तस्तै रहेको सर्वविदितै छ। यस्ता अनेकौँ चुनौतीहरू नेपाली समाजबीच फेरि पनि आउने नै छन् तथापि यी सम्भावनाहरूलाई चनाखो भई निगरानीमा राख्दै पुराना विघटन भएका संरचनाको ठाउँमा लोकतान्त्रिक ढङ्गले नयाँ संरचना पुननिर्माण गर्दै अघि बढ्न जरुरी छ।

पुनर्निर्माण सही ढंगले नगरिए स्वतन्त्रता न्याय र सामाजिक रूपान्तरणको लागि गरिएको यस क्रान्तिको परिणाम सजिलै हाइज्याक हुन सक्छ। नेपालमा पनि सन् १९१७ को रसियामा जस्तो लेनिन र बोल्साविकहरू  नआउलान् भन्न सकिँदैन वा सन् १९७९ मा इरानमा भएजस्तो खुमेनीको  कट्टरपन्ती धार्मिक शासन र सन् २०११ मा इजिप्टमा भएजस्तो सिसीको सैनिक शासन नेपालीले बेहोर्नु नपर्ला भन्न सकिँदैन। ज्याकोबिनहरूको आतंक र नेपोलियनको महत्वाकांक्षी सोचले फ्रान्सेली राजतन्त्रको विरुद्ध जनताले स्वतन्त्रताका लागि गरेको क्रान्तिको परिणामलाई कसरी हाइज्याक गर्यो त्यो पनि विश्व राजनीतिक इतिहासमा प्रष्ट छ। जिम्बाब्वेको उपनिवेशविरोधी क्रान्तिलाई मुगाबेले आफ्नो व्यक्तिगत शासनमा रूपान्तरण गरेको उदाहरण पनि छ। स्वतन्त्रताका लागि गरिएको क्रान्तिको परिणामलाई निरङ्कुश नेताहरूले कसरी हाइज्याक गर्छन् भन्ने कुराको ज्वलन्त उदाहरणहरू हुन् यी।

राजनीतिमा सबैभन्दा ठूलो गल्ती नै मैदानमा हार बेहोर्नु वा शक्ति केन्द्रमा बस्न नसक्नु हो भन्ने वाक्य घोक्दै आएका राजनीतिक स्वाद पाएका र शक्तिका भोका व्यक्तिहरू परिणामलाई आफ्नो पोल्टामा पार्न जुनसुकै स्तरमा झर्न सक्छन्। नेपाली नागरिकहरूले त्यस कुरालाई ख्याल गर्नुपर्छ। नेपाल भौगोलिक रूपमा समेत संवेदनशील अवस्थामा रहेकोमा विदेशी शक्तिले समेत मौका छोप्ने नै छन्। हाल राज्यको बागडोर समातेका र भावी नेतृत्वले अन्तर्राष्ट्रिय राजनीतिमा हुने पावर पोलिटिक्सलाई समेत बुझ्न जरुरी छ र चनाखो भएर राष्ट्रमाथि विदेशी शक्तिबाट पर्न सक्ने खतरालाई समेत नियाल्ने र विश्लेषण गर्ने कार्यमा चुक्नु हुँदैन। लोकतान्त्रिक मूल्य मान्यतामा टेकेर शक्ति एकाधिकारको विरुद्धमा रहेर सहभागिता र जवाफदेहितामा आधारित पुनर्निर्माणले मात्र  यो क्रान्तिको परिणामलाई बलियोसँग स्थापित गर्न सक्छ। यो आन्दोलनको परिणामले नेपालको सधैँ सङ्क्रमणकालमै अल्झिएर बसेको लोकतान्त्रिक व्यवस्थालाई सुदृढीकरण गर्दै अझ गहिरो बनाउँदै लग्नेछ भन्ने कामना गरौँ। जेन-जेड पुस्तालाई सलाम।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको