Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनले पुर्याएको क्षति –भौतिक पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने

अर्थ संसार

शुक्रबार, २५ पुस २०८२, १४ : १५ मा प्रकाशित

जेनजी आन्दोलनले पुर्याएको क्षति –भौतिक पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने

गत भदौ २३–२४ गते देशका विभिन्न भागमा भएको ‘जेनजी’ आन्दोलनले नेपालले हालसम्मकै ठूलो भौतिक तथा मानवीय क्षति बेहोर्नुपरेको सरकारी प्रतिवेदनले देखाएको छ। सरकारले गठन गरेको उच्चस्तरीय समितिको अध्ययनअनुसार दुई दिनमै करिब ८४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।

यो क्षति नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १.३८ प्रतिशत र चालु आर्थिक वर्षको बजेटको ४.३० प्रतिशत बराबर हो। कुल नोक्सानीमध्ये करिब आधाभन्दा बढी सरकारी क्षेत्रमै परेको छ भने निजी र सामुदायिक क्षेत्र पनि ठूलो मारमा परेका छन्। आन्दोलनका क्रममा २,६७१ भवन र १२,६५९ सवारी साधन क्षतिग्रस्त भएका छन्। भवन र सवारी साधनमै सबैभन्दा धेरै आर्थिक नोक्सानी भएको प्रतिवेदनले देखाएको छ। यसका साथै नगद, बहुमूल्य सामग्री र अन्य सम्पत्तिमा पनि अर्बौँ रुपैयाँ बराबरको क्षति भएको छ।

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ कुल क्षतिको दुई तिहाइभन्दा बढी हिस्सा परेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने क्षति तुलनात्मक रूपमा कम रहेको छ। आन्दोलनको असर अर्थतन्त्र र रोजगारीमा पनि स्पष्ट देखिएको छ। उत्पादन तथा सेवामा अर्बौँको घाटा लागेको छ भने करिब ३ हजार जनाको रोजगारी प्रत्यक्ष रूपमा प्रभावित भएको छ।

बीमा प्रणाली अत्यन्त कमजोर रहेको तथ्य पनि प्रतिवेदनले उजागर गरेको छ। क्षतिग्रस्त भवनमध्ये ५ प्रतिशतभन्दा कम मात्र बीमित रहेको र अधिकांश संरचनाको पुनर्निर्माणको भार राज्य र सर्वसाधारणमै परेको छ। सार्वजनिक संरचना पुनर्निर्माणका लागि ३६ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। मानवीय क्षतिको पक्ष झनै गम्भीर देखिएको छ। आन्दोलनमा ७७ जनाको मृत्यु भएको छ भने २,४०० भन्दा बढी घाइते भएका छन्। मृतक र घाइतेमध्ये ठूलो हिस्सा १३ देखि २८ वर्ष उमेर समूहका युवा रहेका छन्।

समितिले आगामी तीन वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने योजना प्रस्ताव गर्दै केन्द्रीय पुनर्निर्माण कोष स्थापना, सार्वजनिक सम्पत्तिको अनिवार्य बीमा, सुरक्षित निर्माण मापदण्ड लागू गर्ने र पीडित परिवारका लागि राहत तथा रोजगारी कार्यक्रम सञ्चालन गर्न सिफारिस गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको