चालु आर्थिक वर्षकाे पहिलाे तीन महिनाकाे अविधमा १५ वाणिज्य बैंकहरूको खराब कर्जा बढेको छ। जेनजी आन्दोलनका कारण कर्जा असुलीमा समस्या उत्पन्न हुँदा खराब कर्जा तीव्र गतिमा वृद्धि भएको देखिएको हो।
चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमास (साउनदेखि असोज) सम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूको औसत खराब कर्जा ४.८६ प्रतिशत पुगेको छ । जुन गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा ४.०४ प्रतिशत मात्र थियो।
तीन महिनाको अवधिमा ९ वाणिज्य बैंकहरूको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ। असुलीमा समस्या बढेपछि बैंकहरूको खराब कर्जा चुलिँदै गएको छ। यो परिस्थितिले आगामी त्रैमासहरूमा पनि कर्जा असुल नहुने जोखिम बढाएको देखिन्छ। जोखिम व्यवस्थापनका लागि बैंकहरूले थप प्रावधान छुट्याउनुपर्ने भएकाले उनीहरूको नाफा र लाभांश वितरण क्षमतामा नकारात्मक असर परेको छ।
सबैभन्दा बढी खराब कर्जा भएका बैंकहरू मध्ये पहिलो स्थानमा हिमालयन बैंक रहेको छ। बैंकको खराब कर्जा गत वर्षको ४.९८% बाट बढेर ७.३९% पुगेको हो। दोस्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । जसको खराब कर्जा ४.२४% बाट ६.९९% पुगेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा खराब कर्जा क्रमशः कुमारी बैंकको खराब कर्जा ६.९८%, सिटिजन्स बैंकको ६.८४%, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.६३%, प्राइम बैंकको ५.८६%, प्रभु बैंकको ५.७८%, नेपाल बैंकको ५.४९%, र लक्ष्मी सनराइज बैंकको ५.४२% रहेको छ।
यसबाहेक, अन्य ११ वाणिज्य बैंकहरूको खराब कर्जा ५ प्रतिशतभन्दा कम रहेको छ। तीमध्ये ग्लोबल आइएमई बैंकको ४.९८%, कृषि विकास बैंकको ४.७८%, एनएमबि बैंकको ४.५८%, नबिल बैंकको ४.३१%, माछापुच्छ्रे बैंकको ४.१३%, सानिमा बैंकको ३.९१%, राष्ट्रिय वाणिज्य बैंकको ३.८३%, सिद्धार्थ बैंकको ३.८%, नेपाल एसबिआई बैंकको ३.०१%, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.७१%, र एभरेष्ट बैंकको ०.७४% रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस