नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि भएको सांघातिक आक्रमणको संवेदनशील घडीमा नेतृत्व परिवर्तनको कुरा उठाउनु अनुचित भएको बताएका छन्। आइतबार बिहान महाराजगञ्जस्थित आफ्नै जलेको घरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सभापति देउवाको घाउ अझै निको भइनसकेको अवस्थामा नेतृत्व परिवर्तनको बहस गर्नु घाउमा नुन छर्कनु सरह भएको टिप्पणी गरे।
महतले भने,‘कांग्रेसभित्र पनि विभिन्न खाले बहस भइरहेको छ । हाम्रो पार्टी सभापति जसले लोकतन्त्रका लागि लामो संघर्ष गर्नुभएको छ, उहाँमाथि यस्तो त्रासदीपूर्ण आक्रमण भयो । अझै उहाँ उपचारको पूर्ण अवस्थामा पुग्नुभएको छैन । त्यस्तो बेला संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो।'
उनले पार्टीले यस प्रकारका आक्रमणको कडा रूपमा भर्त्सना र निन्दा गरिसकेको उल्लेख गर्दै, वर्तमान परिस्थितिमा आन्तरिक विवाद होइन, पार्टीभित्र एकता र सहकार्यमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए। उनले भने,‘हाम्रो पार्टीभित्र अहिले जुन बहस भइरहेको छ, त्यो आलो घाउ ठिक नहुँदै सुरु भएको छ । त्यसप्रति हामी गम्भीर हुनुपर्छ।'
महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नाम नलिइकनै नेतृत्व परिवर्तनको बहस अगाडि बढाएको असन्तुष्टि व्यक्त गरेका छन् । महतले अहिले कांग्रेस एक भएर अघि बढ्ने समय रहेको भन्दै विभाजनकारी प्रवृत्ति गलत भएको टिप्पणी गरे । ‘अहिले एक हुने बेला हो । एक भएर आफ्ना कमीकमजोरी हटाउँदै बलियो पार्टीका रूपमा अघि बढ्नुपर्छ । तर घाउ लागेको बेलामा घाउमा नुन छर्ने प्रवृत्ति गलत हो । चार दिनअघिसम्म सभापति अत्यन्तै ठिक हुनुहुन्थ्यो, उहाँहरूसँग निकटता देखाउनेहरू नै अहिले प्रश्न उठाइरहनुभएको छ । तत्काल नेतृत्व परिवर्तनको कुरा गर्नेहरू त्यतिबेला सबैभन्दा नजिकका साथीहरू हुनुहुन्थ्यो ।'
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ठिक बाटोमा नभएको भन्दै त्यसबारे कांग्रेसले आलोचना गर्दै आएको स्मरण गरे । ‘हामीले कतिपय कुरा ठिक छैन भनेर पहिले नै भनिरहेका थियौं । तर अहिले नयाँ परिस्थिति बनेको छ भनेर तत्कालै नेतृत्व फेर्नुपर्ने कुरा गर्नु उचित होइन । अभिभावकमाथि सांघातिक प्रहार हुँदा कम्तीमा उपचार पूरा हुन त पर्खनैपर्छ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस