नेपाल सरकारले गठित पूँजी बजार सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालयले निर्देशन दिएपछि नेपाल राष्ट्र बैंकले प्रतिवेदन अध्ययनको काम सुरु गरेको छ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट असोज ९ गते पठाइएको पत्रमा नेपाल राष्ट्र बैंक, नेप्से र धितोपत्र बोर्डलाई तत्काल सुधारका सिफारिसहरू कार्यान्वयनका तयारी गर्न निर्देशन दिइएको थियो।
अर्थ मन्त्रालयको पत्र प्राप्त भएपछि राष्ट्र बैंकले आन्तरिक रूपमा प्रतिवेदनका सिफारिसहरूबारे छलफल थालेको छ।
बैंकका प्रवक्ता किरण पण्डितका अनुसार, कार्यदलले सिफारिस गरेको केही विषयहरू हाल मूल्यांकनको चरणमा छन्।
त्यसमध्ये लगानीकर्ताका लागि व्यक्तिगत तर्फको २५ करोड रुपैयाँको लगानी सीमा हटाउने सिफारिस मुख्य विषय बनेको छ।
राष्ट्र बैंकका प्रवक्ता पण्डितले भनेका छन् कि २५ करोड लगानी सीमा हटाउने विषयमा अहिले छलफल भइरहेको छ।
उनका अनुसार, उक्त सिफारिसमा तत्काल निर्णय गरिएको छैन र मौद्रिक नीतिको समीक्षा वा अर्को चरणमा मात्र यसबारे टुंगो लाग्ने सम्भावना छ।
पण्डितले थप जानकारी दिँदै भने कि यसबारे अध्ययन र आवश्यक परामर्शपछि मात्र निर्णय गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस