विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले असोज ३० गते एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा अर्थमन्त्री खनालले विशेष गरी पूर्वाधार विकासका क्षेत्रमा एडिबीले नेपाललाई प्रदान गर्दै आएको दीर्घकालीन सहयोगको प्रशंसा गरे। साथै, उनले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको जानकारी दिए। खनालले एडिबीको लगानीमा हाल निर्माण भइरहेका ठूला पूर्वाधार परियोजनाहरूको चर्चा गर्दै अध्यक्ष कान्दालाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरे। अध्यक्ष कान्दाले नेपालमा भएको राजनीतिक परिवर्तन र सुशासनका प्रयासहरूप्रति चासो व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे।
त्यसै दिन अर्थमन्त्री खनालले विश्व बैंक र आईएमएफको दक्षिणपूर्वी एसियाली समूहका गभर्नरहरूको बैठकमा सम्बोधन गरे। सम्बोधनमा उनले नेपालमा जलविद्युत् उत्पादन र सूचना प्रविधि पूर्वाधारमा लगानीको आवश्यकता औंल्याउँदै ती क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह गरे। विकास आयोजनाहरूको कार्यान्वयनमा भइरहेको ढिलाइको प्रसंग उठाउँदै खनालले विश्व बैंकलाई कार्यान्वयनसम्बन्धी मापदण्ड तथा निर्देशिकाहरूलाई अझ सरल र व्यवहारिक बनाउन सुझाव दिए।
त्यस्तै,उनले आईएमएफलाई विश्वव्यापी वित्तीय मापदण्ड तय गर्दा सदस्य राष्ट्रहरूको स्थानीय आवश्यकता र परिवेशलाई समेत समावेश गर्न आग्रह गरे। उक्त अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल पनि उपस्थित थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस