डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेका उद्योगहरूले नेपाल विद्युत् प्राधिकरणलाई प्रिमियम महसुलको बक्यौता रकम तिर्न सुरु गरेका छन्।
प्राधिकरणका अनुसार सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ताबन्दी सुविधा मार्फत किस्ता बुझाउन थालेका हुन्। यी तीनै उद्योगहरूले यसअघि २८ किस्ताको सुविधा लिएर रकम तिर्न सुरु गरे पनि गत वैशाखदेखि किस्ता तिर्न छाडेका थिए।
सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिका लागि डेडिकेटेड तथा ट्रंक लाइनको अतिरिक्त महसुल बापत ३ करोड ७७ लाख रुपैयाँ तिर्नु पर्नेछ। प्राधिकरणबाट प्राप्त स्वीकृति अनुसार कम्पनीले प्रतिमहिना १३ लाख ४९ हजार रुपैयाँका दरले २८ किस्तामा बुझाउने सम्झौता गरेको थियो। चार किस्ता बुझाएपछि रोकिएको भुक्तानीलाई उद्योगले हाल तीन किस्ताको ४० लाख ४७ हजार रुपैयाँ एकैपटक तिरेर जेठसम्मको किस्ता चुक्ता गरेको छ।
प्राधिकरणका प्रदेश डिभिजन कार्यालय, नेपालगन्जका प्रमुख दीपक गौतमका अनुसार, सम्राट सिमेन्टले असारदेखि असोजसम्म बुझाउनुपर्ने ११ किस्तामध्ये हालसम्म सात किस्ता मात्र तिरेको छ। बाँकी ५३ लाख ९६ हजार रुपैयाँ बराबरका चार किस्ताबारे पत्राचार गरी उद्योगले बाँकी रकम तिरेर नियमित भुक्तानी गर्ने आश्वासन दिएको छ।
त्यस्तै, रोल्पा सिमेन्टले ९९ लाख १२ हजार रुपैयाँ बक्यौता रकमलाई प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँका दरले २८ किस्तामा बुझाउने सहमति गरेको थियो। कम्पनीले सुरुवाती ६ किस्ता तिरेपछि रोकिएको भुक्तानी पुनः सुरु गर्दै हाल ५ किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपटक तिरेको छ। अब कम्पनीका १७ किस्ता बाँकी रहेका छन्।
उता, नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले भने १२ किस्तामा बाँकी १ लाख २३ हजार रुपैयाँ तिरेर आफ्नो सम्पूर्ण बक्यौता रकम चुक्ता गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस