जेनजी युवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्। उनले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलनमार्फत नयाँ दलको औपचारिक घोषणा गर्ने जानकारी दिएका छन्।
ढुंगानाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्नुजस्ता एजेन्डालाई प्राथमिकतामा राखेर दल दर्ता गर्न लागिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको एक भिडियो सन्देशमार्फत उनले भनेका छन्,'राजनीतिक दल खोल्नुको अर्थ यो हैन कि हामी देशको अहिले भएकै अवस्थामा चाहिँ निर्वाचनमा जान्छौँ,' उनले भनेका छन्, 'जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक तहको निकाय बन्दैन तबसम्म हामी निर्वाचनमा जाने छैनौँ।'
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई परिवर्तन भन्दै आफूहरू अझै डटेर शान्तिपूर्ण रुपमा लड्ने बताएका छन्। यो आन्दोलन देशको मुहार फेर्ने अभियान भएको र यो फर्किएर धेरै समयसम्म नआउने भन्दै उनले देशको विकास होस् भन्ने चाहना हुनेहरूलाई आफूसँग जोडिन आह्वान पनि गरेका छन्।
‘देश गम्भीर अवस्थामा छ, ७८ जना नेपालीले ज्यान गुमाउनु परेको छ। अहिले देशले निकाश खोजिरहेको छ र त्यसमा हामी आफूलाई जिम्मेवार ठान्छौँ र निकास दिलाएरै छोड्छौँ’ उनको थप भनाइ छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस