Like us!
Follow us!
Connect us!
Watch us!

लगानीयोग्य रकम थुप्रिँदा पनि कर्जा विस्तार लक्ष्यभन्दा आधा मात्रै,कता चुक्यो नियामक निकाय ?

अर्थ संसार

शुक्रबार, ०४ बैशाख २०८३, ११ : ३३ मा प्रकाशित

लगानीयोग्य रकम थुप्रिँदा पनि कर्जा विस्तार लक्ष्यभन्दा आधा मात्रै,कता चुक्यो नियामक निकाय ?

चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरूमा निक्षेपको तुलनामा कर्जाको विस्तार निकै सुस्त देखिएको छ। नेपाल बैंकर्स संघको तथ्यांक अनुसार यस अवधिमा बैंकहरूले ५ खर्ब ९७ अर्ब १७ करोड रुपैयाँले निक्षेप बढाउँदा कर्जा लगानी भने २ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँले मात्र थपिएको छ।

गत असारमा ६५ खर्ब ३० अर्ब भन्दा माथि रहेको निक्षेप ९.१४ प्रतिशतले बढेर ७१ खर्ब २७ अर्ब ९६ करोड पुगेको छ भने कर्जा प्रवाह ५.५६ प्रतिशतले मात्र बढेर ५२ खर्ब ५० अर्ब ९४ करोड पुगेको छ। यसरी निक्षेप र कर्जा वृद्धिबीच ठुलो खाडल देखिँदा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२ प्रतिशत र विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो। यद्यपि, तेस्रो त्रैमाससम्मको अवस्था हेर्दा कर्जा विस्तारको लक्ष्य भेटाउन कठिन देखिएको छ। राष्ट्र बैंकको फागुन मसान्तसम्मको तथ्यांकले निक्षेपको वार्षिक विन्दुगत वृद्धिदर १५.१ प्रतिशत देखाए पनि निजी क्षेत्रको कर्जा वृद्धिदर भने ६.७ प्रतिशतमा सीमित छ। चैत महिनामा मात्रै १ खर्ब २३ अर्ब भन्दा बढी निक्षेप संकलन हुनु र ७८ अर्बको हाराहारीमा मात्रै कर्जा प्रवाह हुनुले बजारमा अझै पनि लगानीको वातावरण अपेक्षित रूपमा चलायमान हुन नसकेको संकेत गर्दछ।

एउटै बैंकले बटुल्यो १ खर्ब निक्षेप

चालु आर्थिक वर्षको चैत मसान्तसम्म व्यक्तिगत बैंकहरूको प्रदर्शन हेर्दा राष्ट्रिय वाणिज्य बैंकनिक्षेप संकलनमा सबैभन्दा अगाडि देखिएको छ। यस अवधिमा बैंकको निक्षेप करिब १ खर्ब रुपैयाँ (९८ अर्ब ३८ करोड) ले वृद्धि भई कुल ५ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, ग्लोबल आईएमई बैंकको निक्षेप पनि ८० अर्ब ६४ करोड रुपैयाँले बढेर ६ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ। नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र नेपाल बैंकले पनि निक्षेपमा ५० अर्ब रुपैयाँभन्दा बढीको सुधार गरेका छन् भने प्रभु बैंकको निक्षेपमा पनि सामान्य वृद्धि देखिएको छ।

कर्जा विस्तारमा एभरेष्ट आक्रामक

कर्जा प्रवाहको पक्षलाई हेर्दा एभरेष्ट बैंक सबैभन्दा आक्रामक रूपमा प्रस्तुत भएको छ।  बैंकको कर्जा १७.४८ प्रतिशतले बढेर २ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ। प्रतिशतका आधारमा धेरै कर्जा विस्तार गर्नेमा माछापुच्छ्रे बैंक (१२.८२ प्रतिशत) अग्रस्थानमा रहँदा नबिल, ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंकले पनि कर्जा लगानीमा बढोत्तरी गरेका छन्। तर, यसै अवधिमा स्ट्यान्डर्ड चार्टर्ड, एनआईसी एशिया र प्रभु बैंकको कर्जा प्रवाहमा भने गिरावट आएको छ, जसमध्ये एनआईसी एशियाको कर्जा करिब १९ अर्ब ३७ करोडले घटेको देखिन्छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको