चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप उल्लेखनीय रूपमा बढेर ७७ खर्ब ४५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा निक्षेप ६.६ प्रतिशत अर्थात् ४ खर्ब ८२ अर्ब १ करोड रुपैयाँले बढेको हो। जबकि अघिल्लो वर्ष यही समयमा ४.३ प्रतिशत अर्थात् २ खर्ब ७७ अर्ब २३ करोड रुपैयाँ मात्र वृद्धि भएको थियो। वार्षिक आधारमा हेर्दा २०८२ फागुन मसान्तसम्म निक्षेप १५.१ प्रतिशतले बढेको देखिन्छ।
निक्षेपको संरचनातर्फ हेर्दा चल्ती निक्षेपको हिस्सा ६.६ प्रतिशत, बचत निक्षेप ४४.१ प्रतिशत र मुद्दती निक्षेप ४०.१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अनुपात क्रमशः ५.४ प्रतिशत, ३५.४ प्रतिशत र ५१.७ प्रतिशत थिए, जसले मुद्दती निक्षेपको हिस्सा घट्दै गएको संकेत गर्छ।
यस्तै, कुल निक्षेपमध्ये संस्थागत निक्षेपको हिस्सा ३४.३ प्रतिशतमा झरेको छ । जुन अघिल्लो वर्षको ३५.४ प्रतिशतको तुलनामा सामान्य गिरावट हो।
प्रवाहित कर्जा
चालु आर्थिक वर्षको समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जा ४.४ प्रतिशतले विस्तार भई ५७ खर्ब ४१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। यो वृद्धि २ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँ बराबर हो। अघिल्लो वर्षको सोही अवधिमा भने कर्जा ६.० प्रतिशत (३ खर्ब ४ अर्ब ८२ करोड रुपैयाँ) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ फागुन मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको देखिन्छ । कर्जा संरचनामा गैर–वित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.७ प्रतिशत रहेको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रले ३७.३ प्रतिशत ओगटेको छ। अघिल्लो वर्ष यही समयमा यी अंशहरू क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो ।
संस्थागत हिसाबले हेर्दा वाणिज्य बैंकहरूको कर्जा ४.६ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको ३.५ प्रतिशत र वित्त कम्पनीहरूको १.९ प्रतिशतले वृद्धि भएको छ। कुल कर्जामध्ये १५.० प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य) को सुरक्षणमा र ६३.८ प्रतिशत घरजग्गा धितोमा आधारित रहेको छ।
क्षेत्रगत रूपमा उपभोग्य क्षेत्रमा कर्जा १०.५ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्रमा ८.८ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवामा ७.७ प्रतिशत वृद्धि देखिएको छ। औद्योगिक उत्पादन क्षेत्रमा ५.६ प्रतिशत र सेवा उद्योगतर्फ १.८ प्रतिशतले कर्जा बढ्दा कृषि क्षेत्रमा २.० प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा २.७ प्रतिशतले गिरावट आएको छ। कर्जा प्रकारअनुसार ट्रष्ट रिसिट (आयात) कर्जा २३.२ प्रतिशतले उल्लेखनीय रूपमा बढेको छ। त्यस्तै, मार्जिन कर्जा ११.१ प्रतिशत, हायर पर्चेज ८.६ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ३.९ प्रतिशत, रियल स्टेट (आवासीय घर कर्जासहित) ३.५ प्रतिशत, आवधिक कर्जा ३.२ प्रतिशत र क्यास क्रेडिट १.६ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा २.७ प्रतिशतले घटेको देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस