प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको गैर्हीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेण्ट सेन्टरमा बिहान ११ बजेदेखि ९ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष (आव) को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यसैगरी सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस २० गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस