नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणतर्फ संकेत गर्ने गतिविधिहरू तीव्र बन्दै गएका छन्। पछिल्ला केही सातादेखि निरन्तर भएका भेटघाट र संवादपछि रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र ऊर्जा क्षेत्रका प्रभावशाली व्यक्तित्व कुलमान घिसिङ एउटै राजनीतिक संरचनामा अघि बढ्ने निष्कर्षमा पुगेको चर्चा राजनीतिक वृत्तमा व्यापक बनेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि उनी, बालेन र कुलमानबीच संवादले निरन्तरता पाएको बुझिन्छ। लामिछानेको नेतृत्वमा रहेको रास्वपा २०७९ सालको आम निर्वाचनमा उल्लेख्य उपस्थिति जनाउँदै संसद्को चौथो ठूलो दलका रूपमा स्थापित भइसकेको छ। यसले वैकल्पिक राजनीतिप्रति जनस्तरमा रहेको अपेक्षा झल्काएको थियो।
उता, विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा लोडसेडिङ अन्त्य गरेर जनविश्वास आर्जन गरेका कुलमान घिसिङ हाल अन्तरिम सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारीमा छन्। उनी राजनीतिक रूपमा अगाडि नआए पनि पर्दा पछाडि संगठन निर्माणमा सक्रिय रहँदै आएको बुझिन्छ। यसै क्रममा उनले नयाँ राजनीतिक धाराको आधार तयार गरिरहेको चर्चा लामो समयदेखि चल्दै आएको छ।
काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका बालेन शाहले परम्परागत दलहरूको प्रभावलाई चुनौती दिँदै स्थानीय तहमा फरक राजनीतिक शैली स्थापित गरेका थिए। उनको उदयपछि नै वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बहस तीव्र बनेको थियो। पछिल्ला भेटघाटहरूले यही बहसलाई व्यवहारिक चरणतर्फ धकेलेको देखिन्छ।
ललितपुर क्षेत्रमा भएको लामो छलफलपछि यी तीन व्यक्तित्वबीच एउटै राजनीतिक धारमा अघि बढ्ने समझदारी बनेको बताइन्छ। सहमतिअनुसार हाल कायम पार्टी संरचनालाई आधार बनाएर अघि बढ्ने, नेतृत्वको भूमिका स्पष्ट गर्ने र भावी निर्वाचनलाई लक्षित रणनीति तय गर्ने विषयमा गृहकार्य भइरहेको बुझिएको छ। बालेनलाई भावी कार्यकारी नेतृत्वको रूपमा अगाडि सार्ने र पार्टी संगठनको जिम्मेवारी रविले सम्हाल्ने अवधारणाले प्राथमिकता पाएको बताइन्छ।
यद्यपि सबै विषय औपचारिक रूपमा टुंगिन बाँकी छन्। संगठनात्मक संरचना, पद व्यवस्थापन र दीर्घकालीन राजनीतिक मार्गचित्रबारे थप संवाद आवश्यक देखिन्छ। तर, पछिल्ला गतिविधिले स्थापित दलहरूसँग असन्तुष्ट मतदातालाई लक्षित गर्दै बलियो वैकल्पिक शक्ति उदाउने सम्भावना बढेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस