नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा देखिएको राजनीतिक अस्थिरता अन्त्य गर्न र संविधानको संरक्षण गर्न पार्टीभित्र दृढ आन्तरिक एकता अपरिहार्य रहेको बताएका छन्। जेनजी आन्दोलनपछि विकसित वर्तमान राजनीतिक अवस्था र अनिर्वाचित सरकारका कारण संविधान कमजोर बन्दै गएको उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षा गर्न कांग्रेसभित्र भावनात्मक एकता आवश्यक रहेको आइतबार जारी गरिएको भिडियो सन्देशमार्फत बताएका हुन्।
आगामी निर्वाचन र पार्टीको विशेष महाधिवेशनको सन्दर्भलाई जोड्दै डा.कोइरालाले भदौ २४ देखि २७ गतेसम्मको अराजक स्थितिलाई स्मरण गराए । उनले सेनाको सक्रियतामा निकास खोज्नुपर्ने अवस्था आउनु लोकतन्त्रका लागि सुखद नभएको बताए । भावी पुस्तालाई फेरि सङ्घर्ष र बलिदानको मध्ययुगीन चरणमा धकेल्न नहुने उनको तर्क छ । डा.कोइरालाले आफूलाई मन्त्री, प्रधानमन्त्री वा पार्टी सभापति बन्ने कुनै व्यक्तिगत महत्त्वाकाङ्क्षा नरहेको बताए ।
डा.कोइरालाले भनेका छन्, ‘मलाई मन्त्री वा महामन्त्री हुने लोभले कहिल्यै आकर्षित गरेन, यस्ता अवसरहरू आउँदा पनि मैले रुचि देखाइनँ । सभापति र प्रधानमन्त्री हुने कुराले पनि मलाई लोभ्याउँदैन । मेरो उद्देश्य कांग्रेसको समग्र एकता र रूपान्तरण मात्र हो ।’
उनले बीपी कोइरालाको ‘मेलमिलापको नीति’ अहिले झनै सान्दर्भिक भएको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस