Like us!
Follow us!
Connect us!
Watch us!

पुरानो तरिकाले अब चल्दैन : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा

अर्थ संसार

आइतबार, २७ पुस २०८२, १८ : ४० मा प्रकाशित

पुरानो तरिकाले अब चल्दैन : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हाल देखिएको राजनीतिक र सामाजिक असन्तोषलाई आत्मसात गर्दै कांग्रेसले आफ्नो सोच, शैली र नेतृत्व पद्धति बदल्नुपर्ने आवश्यकता औंल्याएका छन्। पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले देश र कांग्रेस दुवैलाई नयाँ दिशातर्फ लैजान पुरानो तरिकाले काम गरेर सम्भव नहुने स्पष्ट पारे।

उनका अनुसार अहिलेको पुस्ता र समयले नयाँ प्रकारको राजनीति खोजिरहेको छ। त्यसैले कांग्रेस अब केवल सत्ताको खेलमा सीमित नभई सुशासन, उत्तरदायित्व र जनविश्वासको पुनर्निर्माणतर्फ उन्मुख हुनुपर्ने उनको भनाइ थियो।

महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूलाई सम्बोधन गर्दै शर्माले पछिल्ला वर्षहरूमा कांग्रेसले जनआशा जगाउन नसकेको स्वीकार पनि गरे। एमालेसँग मिलेर सरकार चलाउँदा समेत जनतामा भरोसा पैदा गर्न नसक्नु पार्टी नेतृत्वका लागि चेतावनी भएको उनको बुझाइ छ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाप्रति दुख व्यक्त गर्दै उनले ती दिनमा ज्यान गुमाएका युवाहरू आफ्नै समाजका सन्तान भएको स्मरण गराए। उनका अनुसार ती घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्छ र जहाँसम्म युवाहरूको संलग्नता थियो, त्यहीसम्म मात्रै जिम्मेवारी तोकिनुपर्छ। निर्दोष युवामाथि सामूहिक दोष थोपर्न नहुने उनले जोड दिए।

शर्माले जेनजी आन्दोलनलाई शत्रुका रूपमा होइन, चेतावनीका रूपमा लिनुपर्ने बताए। समाजमा भौतिक संरचना मात्र नभत्किएको, जनताको मनोविज्ञान पनि चिरिएको भन्दै त्यो दूरी घटाउने जिम्मेवारी राजनीतिक दलहरूको भएको उनको भनाइ थियो।

महामन्त्री शर्माले कांग्रेस पार्टी फुट्ने हल्लालाई अस्वीकार गर्दै पार्टी अझ एकीकृत र सशक्त ढंगले अघि बढ्ने दाबी गरे। उनका अनुसार विशेष महाधिवेशन कुनै औपचारिक जमघट होइन, बरु कांग्रेसको भावी बाटो तय गर्ने निर्णायक मञ्च हो। हलबाट आउने निर्णयलाई कांग्रेसले आफ्नो राजनीतिक दिशानिर्देशकका रूपमा लिने उनले बताए।

उनले आफूहरू पार्टीलाई विगतमा फर्काउने होइन, भविष्यतर्फ लैजाने संकल्पसहित उभिएको बताए। कांग्रेसले अब समयअनुसार आफूलाई परिमार्जन गर्दै देशलाई स्थायित्व, सुशासन र समुन्नतितर्फ लैजाने उनको प्रतिबद्धता थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको