नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज महत्वपूर्ण बन्द सत्र सुरु हुन लागेको छ। काठमाडौंको भृकुटीमण्डपमा हिजोदेखि जारी महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ भने आजबाट संगठन र नीतिगत विषयमा गम्भीर छलफल सुरु हुने भएको हो।
महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार बिहान १० बजेदेखि भृकुटीमण्डपस्थित मुख्य हलमा बन्द सत्र सञ्चालन हुनेछ। आजको पहिलो कार्यसूची विशेष महाधिवेशन कसरी अघि बढाउने भन्ने विषयमा कार्यविधि निर्माण गर्नु रहेको छ।
कार्यविधि पारित भएपछि महाधिवेशन प्रतिनिधिहरूलाई नौ समूहमा विभाजन गरिनेछ। ती समूहहरूमा पार्टीको भावी दिशा तय गर्ने चार प्रमुख एजेन्डामाथि विस्तृत बहस हुनेछ। विधान संशोधन, नीति तथा नेतृत्वको संरचना, शासकीय सुधार र समसामयिक राजनीतिक विषयमा सहभागीहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्नेछन्।
नीतिगत छलफलपछि पार्टी नेतृत्व यथावत् राख्ने वा नयाँ नेतृत्व चयन गर्ने भन्ने विषयमा केन्द्रीय बहस हुने कार्यक्रम रहेको पोखरेलले जानकारी दिए। यदि नेतृत्व परिवर्तन गर्ने निष्कर्षमा महाधिवेशन पुग्यो भने त्यसका लागि निर्वाचन समिति गठन गरी प्रक्रिया अघि बढाइने छ।
हालको आन्तरिक समझदारीका आधारमा नयाँ कार्यसमिति निर्विरोध चयन हुन सक्ने सम्भावना देखिएकोले मतदानको अवस्था नआउने पनि उनले बताए।
यसैबीच महाधिवेशन प्रतिनिधिहरूको दर्ता आज बिहान ११ बजेसम्म खुला राखिएको छ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार देशका विभिन्न जिल्लाबाट धेरै प्रतिनिधिहरू आज बिहान मात्रै काठमाडौं आइपुगेकाले उनीहरूलाई सहभागिता सुनिश्चित गर्न दर्ताको समय थप गरिएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस