Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस विशेष महाधिवेशन - सभापतिका उम्मेदवारले ३० हजार तिर्नुपर्ने, अन्य पदमा शुल्क कति ?

अर्थ संसार

मंगलबार, २९ पुस २०८२, १४ : ४७ मा प्रकाशित

कांग्रेस विशेष महाधिवेशन - सभापतिका उम्मेदवारले ३० हजार तिर्नुपर्ने, अन्य पदमा शुल्क कति ?

भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनका लागि उम्मेदवारी मनोनयन दर्ता शुल्क तोकिएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै विभिन्न पदका लागि लाग्ने शुल्कको विवरण सार्वजनिक गरेको हो।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीद्वारा जारी सूचनाअनुसार ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका, २०८२’ को अनुसूची ७ बमोजिम शुल्क निर्धारण गरिएको हो।

कुन पदलाई कति शुल्क ?

निर्धारित शुल्कअनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ बुझाउनुपर्नेछ। केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ। सहमहामन्त्री पदका उम्मेदवारले २० हजार र केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनेले १० हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ।

विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। पाँच सदस्यीय केन्द्रीय निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गर्दै मतदानको समय पनि निर्धारण गरेको छ। सार्वजनिक कार्यतालिकाअनुसार आजै राति ९ बजेदेखि १ बजेसम्म मतदान हुनेछ। तालिकाअनुसार दिउँसो १२:३० बजे पहिलो मतदाता नामावली प्रकाशन गरिएको छ। १:३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध र छानबिनको समय तोकिएको छ भने अपराह्न २ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। उम्मेदवारी दर्ता दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ। मनोनयनपछि उम्मेदवारहरूको पहिलो नामावली नेपाली वर्णानुक्रम (देवनागरी लिपि) अनुसार प्रकाशन गरिनेछ।

उम्मेदवारीमाथि दाबी–विरोध र त्यसको छानबिन साँझ ७ बजेसम्म सम्पन्न गरी राति ८:४५ बजे अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। अन्तिम नामावली प्रकाशन भएलगत्तै राति ९ बजेबाट मतदान सुरु हुनेछ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरी परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ। विशेष महाधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया अघि बढेसँगै संस्थापन र इतर समूहका नेताहरू आ–आफ्नो रणनीति बनाउन आन्तरिक छलफलमा सक्रिय भएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको