नेपाली कांग्रेसको संस्थापन पक्षले मंगलबार दिउँसो १ बजेका लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक निर्धारित समयमा नबस्दै स्थगित भएको छ। पार्टीभित्र देखिएको आन्तरिक असमझदारीलाई सहमतिमा टुंग्याउने प्रयास भइरहेकाले बैठकलाई बुधबार बिहान ८ बजे बस्ने गरी सारिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्।
उनका अनुसार रातिसम्म केही महत्वपूर्ण विषयमा सहमति जुट्ने अपेक्षाका कारण बैठकलाई केही समयका लागि रोकेको हो। अहिलेको राजनीतिक परिस्थितिमा पार्टीलाई विभाजनतर्फ धकेल्नु कसैको हितमा नपर्ने उनको भनाइ थियो।
प्रवक्ता महतले नेपाली कांग्रेसलाई लोकतन्त्रको ऐतिहासिक आधार र मुलुकलाई एकताबद्ध राख्ने मुख्य राजनीतिक शक्ति भएको उल्लेख गर्दै भने, देशको लोकतान्त्रिक परम्परा जोगाउन कांग्रेसको भूमिका अपरिहार्य रहेको छ। नयाँ दल वा अन्य पुराना राजनीतिक शक्ति कसैले पनि कांग्रेसले जस्तै राष्ट्रिय विश्वास कायम गर्न नसक्ने उनको दाबी थियो।
उनले विशेष महाधिवेशनको माग गर्दै आएका पक्षलाई संयमित हुन आग्रह गर्दै पार्टीभित्र सबै धारणा र असन्तुष्टिहरूलाई समेटिने वातावरण तयार गरिने स्पष्ट पारे। पार्टीलाई विभाजनतर्फ लैजानु दीर्घकालीन रूपमा हानिकारक हुने भएकाले संवाद र सहमतिमार्फत समस्याको समाधान खोज्नुपर्ने उनले बताए।
महतले केन्द्रीय कार्यसमितिबाट पारित निर्णयहरूको कार्यान्वयनलाई नै सबैले आधार बनाउनुपर्नेमा जोड दिँदै संगठनलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट सन्देश दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस