लक्ष्मी सनराइज बैंक लिमिटेडले आज साउन १४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको छ।
बैंकले ‘७% LSL Debenture 2093’ नामको १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो। प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र बिक्रीमार्फत बैंकले कुल ३ अर्ब रुपैयाँ जुटाउने लक्ष्य राखेको छ।
कुल निष्कासनमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको परिमाणमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोष (Mutual Fund) का लागि सुरक्षित गरिएको बैंकले जनाएको छ।
लगानीकर्ताले यस ऋणपत्रमा छिटोमा साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि साउन २८ गतेसम्म लम्बिनेछ।
आवेदन दिँदा न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण निष्कासित कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई गत असार ९ गते ऋणपत्र निष्कासनको अनुमति दिएको थियो। उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर कायम गरिएको छ भने यसको अवधि १० वर्ष रहनेछ।
यस ऋणपत्रको बिक्री प्रबन्धकको रूपमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस