Like us!
Follow us!
Connect us!
Watch us!

'भदौ २३ र २४ गते राज्यबाट भएको कमीकमजोरीको भागीदार कांग्रेस पनि हुनुपर्छ'

अर्थ संसार

मंगलबार, ०५ फागुन २०८२, १४ : १७ मा प्रकाशित

'भदौ २३ र  २४ गते राज्यबाट भएको कमीकमजोरीको भागीदार कांग्रेस पनि हुनुपर्छ'

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भदौ २३ र २४ गते नवयुवाहरूको निर्ममतापूर्वक हत्या हुनुमा राज्यको असावधानी प्रस्ट देखिएको बताएका छन्। एक भिडिओ सन्देश जारी गर्दै कतिपय असावधानीका कारणले जेनजी आन्दोलनले दुखद बाटो लिएको बताए। जेनजी आन्दोलन हुँदा गृह मन्त्रालय नेपाली कांग्रेसको नेतृत्वमा रहेको भएकाले कमीकमजोरीको भागीदार एमाले एक्लै नहुने उनको भनाइ छ।

उनले जेनजी आन्दोलनबाट घाइते भएकाहरूको जीविकोपार्जनका निम्ति रोजगारीको प्रबन्ध गर्ने कुरामा सकारात्मक कदम उठाउने बताए। उनले सुशीला कार्की सरकार र जेनजी समूहको बीचमा समझदारी प्रक्रियागत क्रममा केही असहमति भएपनि कन्टेन्टमा विमति नभएको बताए। जेनजीले उठाएका कतिपय मागको सम्बोधनका लागि संविधानको संशोधन आवश्यक रहेको बताए।

उनले भने, ‘विशेष गरी २३ र २४ जना नवयुवाहरूको निर्ममतापूर्वक हत्या भयो। त्यसमा राज्यको असावधानी र कमजोरी प्रस्ट देखिन्छ र हामीले त्यो कमजोरीलाई स्वीकार्नुपर्छ। त्यसप्रति हामी आत्मालोचित छौँ, हामीले पटक–पटक भनेकै छौँ। २४ गते त्यसको केही आक्रोशहरू थियो, स्वाभाविक हो सडकमा त्यो आक्रोशहरू पोखिन्छ नै। तर त्यति मात्रै थिएन, २३ गते राज्यको कमजोरी थियो भने २४ गते राज्य विरुद्धको सङ्गठित अपराध पनि थियो, षड्यन्त्रहरू पनि थिए। त्यसकारणले २३ र २४ गतेलाई अलग ढङ्गले विश्लेषण गर्नुपर्छ भनेर मैले पहिल्यै देखि भन्दै आएको छु। आज निर्वाचनको सन्मुखमा हामी छौँ, त्यसकारणले नेकपा एमाले र जेनजी नवयुवाका बीचमा उत्पन्न वैमनस्यता अथवा अन्तर्विरोधहरू लामो समयसम्म यस्ता अन्तर्विरोध रहनु हुँदैन। यसलाई हामीले एक आपसको बीचमा सहमतिबाट, छलफलबाट यी अन्तर्विरोधहरूलाई हल गर्दै जानुपर्छ भन्ने उद्देश्यले म यहाँहरूको बीचमा उपस्थित भएको हुँ। २३ र २४ गतेको घटना नबिर्सौँ। २३ गते राज्यको कमजोरी हो भन्ने कुरा नबिर्सौँ। २४ गते राज्य विरुद्धको विप्लव हो, त्यसलाई छुट्टाउनुपर्छ। चाहे त्यो तोडफोड होस्, आगजनी होस्, हिंसात्मक गतिविधि हुन्, त्यस कुरालाई हामीले क्षमा गर्नु हुँदैन। सुशीला कार्की नेतृत्वको सरकारले त्यसको छानबिन गर्ने एउटा आयोग बनाएको छ। हेरौँ त्यसले कस्तो रिपोर्ट दिन्छ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको