Like us!
Follow us!
Connect us!
Watch us!

योगेशको प्रश्न - निर्वाचनमा एमालेले खाएको धक्काको जिम्मेवारी कसले लिने ?

अर्थ संसार

सोमबार, ०७ बैशाख २०८३, १२ : ०३ मा प्रकाशित

योगेशको प्रश्न -   निर्वाचनमा एमालेले खाएको धक्काको जिम्मेवारी कसले लिने ?

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७७ औं वर्ष प्रवेशको ऐतिहासिक घडीमा नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र गम्भीर वैचारिक बहसको आवश्यकता औंल्याएका छन्।  पुष्पलाल श्रेष्ठको नेतृत्वमा सुरु भएको यो आन्दोलनले फुट, विभाजन, एकता र पुनर्गठनका अनेकौँ घुम्तीहरू पार गरिसकेको सन्दर्भमा उनले विगतको समीक्षा गर्नुपर्नेमा जोड दिएका हुन्।

विशेषगरी मनमोहन अधिकारी र मदन भण्डारी जस्ता जनप्रिय नेताहरूले निर्माण गरेको बलियो विरासतलाई कायम राख्नु अहिलेको नेतृत्वका लागि ठुलो चुनौती र 'अग्नि परीक्षा' बनेको उनको ठम्याइ छ। पछिल्लो निर्वाचनमा पार्टीले व्यहोर्नु परेको धक्कालाई सामान्य रूपमा नलिन आग्रह गर्दै भट्टराईले यसलाई पार्टीको नीति, नेतृत्व, सङ्गठनात्मक संरचना र कार्यशैलीसँग जोडेर गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अघि बढाउन र समयसापेक्ष रूपान्तरण गर्न अब पुरानै पद्धतिले नपुग्ने र नयाँ ढंगको वैचारिक स्पष्टता आवश्यक रहेको उनको तर्क छ।

उनले भनेका छन्, 

सन् १९४९ अप्रिल २२ अर्थात् २००६ साल वैशाख ९ गते कमरेड पुष्पलालको नेतृत्वमा नर ब कर्माचार्य, नारानविलास जोशी, निरंजनगोबन्द वैद्य र मोतीदेबी श्रेष्ठ सहितले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । नेकपा स्थापना ७६ वर्ष पूरा भएर वैशाख ९ गते ७७ वर्षमा प्रवेश हुने छ । यस अवधिमा नेकपाले फुट, विभाजन, एकता, पुनर्गठन, रूपान्तरणका अनेक बाटो हिँडेको छ ।

सफलताको सगरमाथादेखि असफलता र निराशाको चरम अनुभव बेहोर्नु परेको छ । पुष्पलाल, मनमोहन र मदन भण्डारीजस्ता ऐतिहासिक युग नेताले निर्माण गरेको सफलताको विरासतमाथि पछिल्लो नेतृत्व र आउने पुस्ता अग्नि परीक्षामा रहेको छ । उग्रवामपन्थी अतिवाद र दक्षिणपन्थी बिचारका विरुद्धको वैचारिक तथा राजनीतिक सङ्घर्षबाट निर्माण भएको जनताको बहुदलीय जनवाद आज हामीसँग छ ।

तर प्रश्न छ के हामीले जबजलाई सही अर्थमा बुझेका छौँ ? सोही अनुरूपको व्यवहार गरेका छौँ ? फागुन २१ को निर्वाचनबाट किन चरम धक्का खायौँ ? यसमा नीति, नेतृत्व, सङ्गठन, व्यवहार, कार्यशैली लगायतको दोष के के छ? जिम्मेवारी र जवाफदेहिता क-कस्ले लिनु पर्ने हो ? पार्टी र आन्दोलनको पुनर्जागरण र पुनःउत्थानको मार्ग के हो ? पार्टी स्थापना दिवसका अवसरमा यी र यस्ता सवालमा गम्भीर बहस गरौँ ।

राजधानीमा रहनुभएका कमरेडहरू यही वैशाख ९ गते अपराह्न २:०० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेट गरौँ । आपसमा विचार विमर्श गरौँ । राजधानी बाहिरका कमरेडहरू स्थापना दिवसका लागि तोकिएको स्थानमा भेटेर आवश्यक बहस तथा छलफल गरौँ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको