मध्यपूर्वको (खाडी क्षेत्र)मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। जसले विश्व अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ।
यो मूल्यवृद्धि अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावसँग जोडिएको मानिएको छ। ऊर्जा आपूर्तिका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलडमरु (हर्मुज स्ट्रेट) मा सम्भावित आक्रमणको जोखिम बढेपछि त्यहाँको आवागमन लगभग अवरुद्ध हुने अवस्थामा पुगेको बताइएको छ। इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिका र उसका सहयोगी देशसँग सम्बन्धित जहाजलाई लक्षित गर्न सक्ने चेतावनी दिएको छ। यस्तो अवस्था लम्बिए तेलको मूल्य प्रतिब्यारेल २०० डलरसम्म पुग्न सक्ने सम्भावना पनि औँल्याइएको छ। बढ्दो मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेको छ।
तेलको मूल्यवृद्धिको असर विश्वका विभिन्न देशमा देखिन थालेको छ। अमेरिकामा पेट्रोलको मूल्य बढेको छ भने फिलिपिन्स र थाइल्यान्डजस्ता एसियाली मुलुकमा इन्धन भर्न लामो लाइन लाग्न थालेको खबर आएको छ। ऊर्जा संकटको सम्भावना देखिएपछि केही देशले सरकारी कार्यालयको समय घटाउने तथा घरबाट काम गर्ने व्यवस्था जस्ता उपाय अपनाउन थालेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस