कृषि प्रविधिमा आधारित कम्पनी मेरो किसान लिमिटेडले सर्वसाधारणमा सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो।
यस सम्बन्धमा दुवै पक्षबीच २०८२ साल चैत २ गते काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा एक औपचारिक कार्यक्रम आयोजना गरी सम्झौता सम्पन्न भएको छ।
सम्झौतापछि कम्पनीले पुँजी बजारमार्फत् सर्वसाधारण लगानीकर्तासँग प्रत्यक्ष रूपमा जोडिने बाटो खुला भएको जनाएको छ। दुवै संस्थाले यस सहकार्यबाट नेपालको कृषि क्षेत्रमा थप लगानी भित्र्याउन र व्यवसाय विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
सन् २०२० मा स्थापना भएको मेरो किसान लिमिटेड नेपालमा कृषि क्षेत्रलाई प्रविधिसँग जोड्ने उद्देश्यका साथ अघि बढेको कम्पनी हो। यसले किसान र उपभोक्ताबीचको दूरी घटाउँदै ताजा तथा स्थानीय उत्पादन सिधै बजारसम्म पुर्याउने काम गर्दै आएको छ।
कम्पनीले किसानसँग प्रत्यक्ष सहकार्य गर्दै बिउबिजन उत्पादनदेखि कृषि उपज संकलन, भण्डारण, वितरण तथा डिजिटल प्लेटफर्ममार्फत उपभोक्तासम्म आपूर्ति गर्ने प्रणाली विकास गरेको छ। आधुनिक ‘कोल्ड–चेन’ पूर्वाधार र आपूर्ति व्यवस्थापन प्रणाली प्रयोग गरी उत्पादनको गुणस्तर कायम राख्दै अनावश्यक बिचौलियालाई हटाउने प्रयास गरिएको कम्पनीले जनाएको छ।
मेरो किसानले देशभर हजारौँ ग्राहकलाई सेवा दिँदै आएको छ भने किसानलाई उचित मूल्य दिलाउने र उपभोक्तालाई ताजा उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको छ। कम्पनीका अनुसार दीगो कृषि प्रणाली निर्माण गर्दै कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने यसको दीर्घकालीन उद्देश्य हो।
कम्पनीले चितवनको पटिहानी क्षेत्रमा करिब ३.५ बिगा जग्गा खरिद गरी कृषि प्रशोधन केन्द्र र दुग्ध डेरी सञ्चालन गर्ने तयारी पनि गरेको छ। हाल उक्त संरचनाको निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ। चालु आर्थिक वर्षभित्र प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तथा आगामी आर्थिक वर्षको पहिलो त्रैमाससम्म डेरी सेवा सुरु गर्ने लक्ष्य कम्पनीले लिएको छ।
सम्झौता कार्यक्रममा मेरो किसान लिमिटेडका अध्यक्ष विष्णुमणि गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालकहरू सुनिल थापा र सन्तोष बस्तेतको उपस्थिति रहेको थियो। त्यसैगरी प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया तथा विशिष्ट लगानी कोष प्रमुख सुदीप हरि ढुंगानाको सहभागिता रहेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस