याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन सुरु गरेको हो।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ लाख कित्ता सेयर सार्वजनिक निष्काशनका लागि स्वीकृति पाएको थियो। यसमध्ये प्रारम्भिक चरणमा ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ, जसको कुल मूल्य ७ करोड रुपैयाँ हुन्छ।
उक्त सेयरमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरमध्ये १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ। यसका लागि सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले मात्र आवेदन दिन पाउनेछन्।
आवेदन दिन न्यूनतम १० कित्ता तोकिएको छ। अधिकतम सीमाका हकमा स्थानीय बासिन्दाले ७ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका लागि खुला गरिएको आईपीओ छिटोमा चैत २२ गते बन्द हुनेछ भने मागअनुसार नपरेमा वैशाख ७ गतेसम्म खुला रहनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म रहनेछ।
कम्पनीको वित्तीय अवस्थाको मूल्याङ्कन गर्दै केयर रेटिङ्ग नेपालले “केयरएनपी डबल बी माइनस” इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
याम्बालिङ्ग हाइड्रोपावरले सिन्धुपाल्चोकमा ७.२७ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले सिन्धु विकास बैंक र कुमारी बैंकका सम्बन्धित शाखाहरूबाट आवेदन दिन सक्नेछन्। साथै, आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि–आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। यसका अतिरिक्त मेरो सेयर अनलाइन प्रणालीमार्फत पनि सहज रूपमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस