कालिन्चोक हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले चैत २२ गतेदेखि दोस्रो चरणअन्तर्गत सर्वसाधारणमा सेयर बिक्री खुला गर्ने जनाएको हो।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार कम्पनीले कुल १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दाका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वितरण भइसकेको छ।
अब बाँकी रहेको सेयरमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि तथा १६ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। यी बाहेक बाँकी ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ।
सर्वसाधारणले उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति चैत २५ गते तोकिएको छ।
कम्पनीको वित्तीय अवस्थाको मूल्याङ्कन गर्दै केयर रेटिङ्ग नेपालले “केयरएनपी डबल बी” इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्दछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस