Like us!
Follow us!
Connect us!
Watch us!

३४ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति,१८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्षम

अर्थ संसार

विहीबार, १९ चैत्र २०८२, १७ : १९ मा प्रकाशित

३४ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति,१८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्षम

विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब  बढी पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी पुगेको हो । यो गत आर्थिक वर्षको असारमा रहेको २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँको तुलनामा २७.५ प्रतिशतले वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार गत असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ फागुन मसान्तमा १८.३ प्रतिशतले वृद्धि भई २३ अर्ब ८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८२ फागुन मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई ३० खर्ब ३५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा २०८२ फागुन मसान्तमा ४४.० प्रतिशतले वद्धि भई ३ खर्ब ७८ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ । २०८२ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२।८३ को ८ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८२ सालको फागुन मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात तथा विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ५५.९ प्रतिशत, १५३.८ प्रतिशत र ४०.८ प्रतिशत रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको