अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको भेटमा वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पारे ।
स्टक मार्केटबारे बोल्दै उनले बजारमा अफवाह फैलाइएको भन्दै चिन्ता व्यक्त गरे । ‘केही सानो समूहले चलखेल गर्न खोजेको छ, इनसाइडर ट्रेडिङ गर्ने र नियम विपरीत कारोबार गर्नेलाई निस्तेज पारिन्छ,’ उनले भने ।
मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै सरकारले आवश्यक सावधानी अपनाएको उल्लेख गर्दै उनले सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको जानकारी दिए । उनले २५ लाख नेपालीलाई स्वदेश फर्काउने भन्दा पनि समस्या परेका नेपालीलाई प्राथमिकताका साथ उद्धार गर्ने काम भइरहेको बताए । गृह मन्त्रालयका निर्णय कार्यान्वयनबारे स्पष्ट पार्दै वाग्लेले भने, ‘गृह मन्त्रालयबाट भएका निर्णयलाई सोही मन्त्रालयले कार्यान्वयन गरेको हो ।’
उनले सरकारले अनावश्यक तामझामका साथ कारबाही नगर्ने तर वर्षौंदेखि अनुसन्धान भएर रोकिएका मुद्दाहरूलाई अगाडि बढाइएको स्पष्ट पारे । साथै, नेपाललाई ग्रे लिस्टबाट हटाउन सरकार सक्रिय रहेको जानकारी दिए । राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उनले आगामी जेठ १५ मा आउने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताए । अनलाइन प्रणालीमा देखिएका समस्याहरू तत्काल समाधान गर्न प्रधानमन्त्री कार्यालयले विशेष ध्यान दिइरहेको पनि उनले बताए ।
सरकारी स्वामित्वका संस्थानहरूको व्यवस्थापनबारे बोल्दै उनले गोरखकाली लगायत केही संस्थाहरूलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको र यसलाई आगामी बजेटमा समेटिने बताए । अर्थमन्त्री वाग्लेले सामाजिक न्यायसहितको अर्थनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रलाई चलायमान बनाउने तर कानुनी तथा नियामक प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्ने बताए । अर्थमन्त्रीले नाफिजलाई आवश्यक सहयोग आगामी बजेटमार्फत उपलब्ध गराइने पनि आश्वासन दिए । अर्थमन्त्री वाग्लेले नाफिजको विकासप्रति सन्तोष व्यक्त गर्दै भने, ‘नाफिज मैले सुन्दा हुर्कदै थियो, अहिले परिपक्व संस्थाको रूपमा स्थापित भइसकेको छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस