शीतभण्डारसम्बन्धी झुट्टा कार्यसम्पादन प्रतिवेदन तयार पारेर करिब ७२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार शीतभण्डार निर्माणका लागि नौवटा सहकारी संस्थाले संयुक्त लगानी गर्ने निर्णय गरेका थिए। ५०० मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गर्ने लक्ष्य राखिए पनि योजना कार्यान्वयनको विभिन्न चरणमा गम्भीर अनियमितता भएको दाबी गरिएको छ। आयोगले परामर्श सेवा, नापजाँच, डीपीआर निर्माण तथा मूल्यांकनलगायतका काममा अस्वाभाविक रूपमा लागत बढाइएको उल्लेख गरेको छ। साथै सार्वजनिक खरिद प्रक्रियामा खुला प्रतिस्पर्धा नगरिएको र आवश्यक कानुनी प्रक्रिया पूरा नगरी डीपीआर तथा अन्य कागजात स्वीकृत गरी सोझै खरिद गरिएको आरोप पनि लगाइएको छ।
अनुसन्धानका क्रममा प्राविधिक परीक्षण, अनुगमन र आवश्यक चेकजाँचबिना नै बदनियतपूर्वक ७१ लाख ९७ हजार ९८० रुपैयाँ ६ पैसा भुक्तानी गरिएको आयोगले जनाएको छ। यसरी गरिएको भुक्तानी गैरकानुनी भएको निष्कर्ष निकाल्दै अख्तियारले भ्रष्टाचार भएको ठहर गरेको हो। त्यसैगरी, परियोजनाअन्तर्गत निर्माण गरिएको शीतभण्डार गुणस्तरहीन रहेको र हाल प्रयोगविहीन तथा जीर्ण अवस्थामा फेला परेको पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। सरकारी अनुदानमा निर्माण गरिएको संरचना उद्देश्यअनुसार सञ्चालनमा नआएको र लगानीको दुरुपयोग भएको आयोगको ठहर छ।
मुद्दामा तत्कालीन सचिव बैकुण्ठ अधिकारीसँगै तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल, सह–लेखापाल अजय मिश्र पनि प्रतिवादीका रूपमा रहेका छन्। यस्तै, सहकारी संस्थाहरूका तर्फबाट भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक अशोक कुमार तिवारी, तत्कालीन अध्यक्ष जयराम गडेरिया, कृष्ण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष अशोक कुमार त्रिपाठी पनि अभियोगमा समेटिएका छन्।
नवदुर्गा स्वावलम्बन बहुउद्देश्य सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष दुर्गाप्रसाद कुर्मी, व्यवस्थापक जितेन्द्र यादव, वैष्णो माता स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक कृष्णकुमार सिंह, जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष फुलमन भर, गौतम बुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष ओमप्रकाश गुप्ता पनि प्रतिवादी बनेका छन्।
त्यसैगरी मर्चवारी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष स्वर्गीय श्यामसुन्दर यादवको हकवाला श्रीमती इनरावती यादव, जनउत्थान स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष स्वर्गीय कतबारू गोसाईको हकवाला श्रीमती राजपति गोसाई तथा फर्म सञ्चालक सुगम कोइरालामाथि पनि भ्रष्टाचार अभियोग लगाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस