Like us!
Follow us!
Connect us!
Watch us!

घुस मुद्दामा उल्टियो सरकारी साक्षीकै बयान,अख्तियारमा दुई जनाविरुद्ध मुद्दा दायर

अर्थ संसार

विहीबार, २४ पुस २०८२, १६ : २८ मा प्रकाशित

घुस मुद्दामा उल्टियो सरकारी साक्षीकै बयान,अख्तियारमा दुई जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दामा सरकारी साक्षीले प्रतिकूल बकपत्र गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार विशेष अदालत काठमाडौंमा नेपाल सरकार वादी र वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव प्रतिवादी रहेको घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा उपस्थित प्रेम सिंह ठगुन्ना र किसन सिंह साउदले अदालतमा बकपत्र गर्दा आयोगसमक्ष यसअघि दिएको बयानभन्दा फरक तथा प्रतिकूल विवरण प्रस्तुत गरेका थिए। सोही विषयमा उपर अनुसन्धान गरिपाउँ भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको हो।

अनुसन्धानका क्रममा जिल्ला कैलाली, चुरे गाउँपालिका वडा नं. ६ निवासी प्रेम सिंह ठगुन्ना र जिल्ला कैलाली, गोदावारी नगरपालिका वडा नं. २ निवासी किसन सिंह साउदले विशेष अदालत, काठमाडौंमा मिति २०८२ साल ८ महिना २५ गते बकपत्र गर्दा अनुसन्धान अधिकृतसमक्ष दिएको बयानको प्रतिकूल हुने गरी बयान दिएको तथ्य पुष्टि भएको आयोगले जनाएको छ।

आयोगका अनुसार यी दुवै व्यक्तिले वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवलाई नगद सात लाख एकतीस हजार रुपैयाँ घुस दिएको कार्य पुष्टि भइसकेको अवस्थामा, पछि गैरकानूनी स्वार्थ तथा लाभ लिने–दिने उद्देश्यले आपसी सम्पर्क कायम गरी अनुसन्धानका क्रममा दिएको उजुरी, बयान र कसुर स्वीकारोक्ति तथा सजायमा छुट सुविधा पाएपछि सोही सुविधा र छुटको शर्तविपरीत फरक तथा झुट्टा व्यहोरा लेखाई अदालतमा प्रतिकूल बकपत्र गरेका हुन्।

यसरी प्रतिकूल बकपत्र गर्नु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धात्मक व्यवस्थाविपरीत रहेको र सोही ऐनको दफा ३ को उपदफा (३) बमोजिम कसुर ठहर हुने आयोगको निष्कर्ष छ। त्यस आधारमा प्रेम सिंह ठगुन्ना र किसन सिंह साउदविरुद्ध बिगो सात लाख एकतीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद तथा बिगो बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१क) बमोजिम घुस जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको