पुँजी बजारमा बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) ल्याउने तयारी तीव्र बन्दै गएको छ। यसैक्रममा पाँच वटा कम्पनीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड सँग आवश्यक सम्झौता सम्पन्न गरेका छन्।
बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार योग्य संस्थागत लगानीकर्तालाई छुट्याइने सेयरको शिलबन्दी बोलपत्र प्रक्रिया अघि बढाउन ती कम्पनीहरूले नेप्सेसँग औपचारिक सहकार्य गरेका हुन्। यस कदमसँगै ती कम्पनीहरूको आईपीओ निष्काशन प्रक्रिया थप अगाडि बढेको मानिएको छ।
सम्झौता गर्ने कम्पनीहरूमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड रहेका छन्।
सम्झौता प्रक्रिया चरणबद्ध रूपमा सम्पन्न भएको देखिन्छ। नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड र जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेडले गत चैत २२ गते नेप्सेसँग सम्झौता गरेका थिए। त्यसपछि टाइम फर्मास्युटिकल्स लिमिटेडले चैत २४ गते सहकार्य अघि बढाएको थियो भने पछिल्लो चरणमा लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेडले वैशाख ३ गते सम्झौता सम्पन्न गरेका हुन्।
बुक बिल्डिङ प्रक्रियाअन्तर्गत यी कम्पनीहरूले योग्य संस्थागत लगानीकर्ताका लागि निश्चित परिमाणमा सेयर छुट्याएका छन्। प्राप्त विवरणअनुसार नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले ८ लाख १६ हजार ४ सय ८० कित्ता सेयर छुट्याएको छ। जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेडले १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्स लिमिटेडले ४ लाख ३४ हजार ६ सय कित्ता सेयर निर्धारण गरेको छ। त्यस्तै, लक्ष्मी स्टील्स लिमिटेडले १८ लाख कित्ता र पूर्वाञ्चल ल्युव आयल लिमिटेडले ६ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि छुट्याएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस