टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले बैशाख २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ३ लाख ३ हजार ६७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरुका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ६० हजार ६१३ कित्ता बाँडफाँट गरिसकेको छ ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा बैशाख २३ गते हुनेछ भने ढिलोमा जेठ ६ गते हुनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस