सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी दुवैमा सुधार देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २०.७८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको ६ अर्ब ३३ करोड रुपैयाँको तुलनामा ३.०४ प्रतिशतले बढी हो।
त्यस्तै, कुल सञ्चालन आम्दानी ८.२५ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २३.४५ प्रतिशतले वृद्धि भएको छ। बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ रहेको छ। चुक्ता पूँजी १८ अर्ब २९ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकले ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४९ पैसाले बढेर १७ रुपैयाँ ६२ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.२५ गुणा रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस