दुई वर्षदेखि जारी इस्रायल–हमास युद्धमा ऐतिहासिक मोड आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इस्रायल र हमासबीच “शान्ति योजनाको पहिलो चरण” मा सहमति भएको छ, जसमा इस्रायली सैनिक फिर्ता र बन्धक मुक्तिको प्रक्रिया सुरु हुने तय भएको छ।
ट्रम्पले बुधबार साँझ सामाजिक सञ्जाल Truth Social मार्फत लेखेका छन् —
“यस सम्झौतासँगै सबै बन्धक छिट्टै मुक्त हुनेछन्, र इस्रायलले आफ्नो सेना सहमति गरिएको सीमासम्म फिर्ता गर्नेछ। यो स्थायी र न्यायपूर्ण शान्तितर्फको पहिलो कदम हो।”
उनले थपे, “सबै पक्षलाई निष्पक्ष रूपमा व्यवहार गरिनेछ।”
यस सम्झौता अन्तर्गत हमासले यसै साताभित्र २० जना जीवित बन्धकहरू मुक्त गर्ने सहमति जनाएको छ। इस्रायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन् —
“भगवानको मद्दतले हामी सबैलाई घर फर्काउनेछौँ। म राष्ट्रपति ट्रम्प र उनको टोलीलाई यस पवित्र अभियानमा समर्पणका लागि धन्यवाद दिन चाहन्छु।”
यसबीच, हमासले बन्धक बनाएका नेपाली नागरिक विपीन जोशी को ३३ सेकेन्ड लामो भिडियो बुधबार साँझ सार्वजनिक गरिएको छ। जेरुसेलम पोस्ट का अनुसार उक्त भिडियो इस्रायली गुप्तचर एकाइहरूले प्राप्त गरेपछि सार्वजनिक गरिएको हो।
भिडियोमा जोशीले आफ्नो परिचय दिँदै भनेका छन् कि उनी अपहरण हुनुअघि इजरायलको एक कृषि फर्ममा काम गर्थे।
उनको परिवारले एक विज्ञप्तिमा भन्यो —
“गाजाबाट प्राप्त यो जीवनको प्रमाणले उहाँ जीवित हुनुहुन्छ भन्ने हाम्रो अटल विश्वासलाई बल दिएको छ।”
जोशी लर्न फर अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए र किबुत्ज अलुमिम बाट अपहरण गरिएका थिए, जहाँ अन्य धेरै नेपालीहरू पनि कार्यरत थिए। वाल स्ट्रिट जर्नल का अनुसार, जोशीले हमलाको समयमा आफ्ना साथीसहित धेरैको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेलेका थिए।
ट्रम्प प्रशासनका अनुसार, सम्झौता बिहीबार इस्रायली क्याबिनेटमा प्रस्तुत हुनेछ। एक वरिष्ठ ह्वाइट हाउस अधिकारीका अनुसार, अनुमोदन भएपछि इस्रायली फौजले २४ घण्टाभित्र सहमत सीमासम्म फिर्ता हुनेछ।
हमासलाई बन्धकहरू मुक्त गर्न ७२ घण्टाको समय दिइएको छ। यसै सप्ताहन्तदेखि पहिलो चरणमा २० जीवित बन्धकहरू र केही मृतकको शव हस्तान्तरण गरिनेछ।
कतरको परराष्ट्र मन्त्रालयका प्रवक्ताले पनि यस सम्झौतामा “सबै प्रावधान र कार्यान्वयन संयन्त्रमा सहमति भइसकेको” जनाएका छन्। सम्झौताले युद्ध अन्त्य, मानवीय सहायता प्रवेश र बन्धक तथा कैदीहरूको विनिमय सुनिश्चित गर्नेछ।
७ अक्टोबर २०२३ मा हमासको आकस्मिक आक्रमणबाट सुरु भएको यो युद्धमा हालसम्म करिब ६७ हजारभन्दा बढी फिलिस्तीनी मारिएका र १ लाख ७० हजार घाइते भएका छन्। इस्रायलका झण्डै १,२०० नागरिक र सैनिकको ज्यान गएको छ।
यसअघि २०२३ नोभेम्बरमा पहिलो युद्धविराम र २०२४ सुरुवातमा दोस्रो सम्झौता भए पनि ती दीर्घकालीन बन्न सकेका थिए। अहिलेको सम्झौता ट्रम्प प्रशासनले पुनः मध्यपूर्वमा आफ्नो ‘शान्ति नेतृत्व’ पुनःस्थापित गर्ने प्रयासको रुपमा हेरिएको छ।
राष्ट्रपति ट्रम्पले आफ्ना पूर्व वरिष्ठ सल्लाहकार जारेड कुशनर र विशेष दूत स्टिभ विटकफ लाई सम्झौता सम्पन्न गराउन “उत्कृष्ट काम गरेको” भन्दै प्रशंसा गरेका छन्।
तर सम्झौतामा समावेश हुन सक्ने चर्चित फिलिस्तीनी नेता मरवान बरघौती को नामलाई लिएर इस्रायली क्याबिनेटभित्र मतभेद हुने आशंका छ। नेतान्याहुको गठबन्धनका अति दक्षिणपन्थी सदस्यहरूले त्यसलाई अस्वीकार गर्न सक्ने बताइएको छ।
दुई वर्ष लामो विनाश, हजारौँ निर्दोषको मृत्यु र क्षेत्रीय तनावबीच आएको यो सम्झौता मध्यपूर्वमा नयाँ शान्ति यात्राको आरम्भ हो वा अर्को अस्थायी विराम, त्यो आउँदो साताहरूमा स्पष्ट हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस