नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले विद्युत उपभोगमा थप कर लगाउने सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले ऊर्जा क्षेत्रको विकास र उपयोगका विषयमा सरकार गलत दिशातर्फ गएको टिप्पणी गरेका हुन्।
उनले विगतमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावलाई कारण देखाउँदै सार्वजनिक बिदा दिने निर्णय गरिएको स्मरण गर्दै अहिले ५० युनिटभन्दा बढी विद्युत प्रयोग गर्ने उपभोक्तामाथि भ्याट लगाइनु विरोधाभासपूर्ण भएको बताएका छन्।
पोखरेलले जलस्रोतका हिसाबले नेपाल विश्वकै धनी मुलुकमध्ये पर्ने उल्लेख गर्दै स्वदेशी ऊर्जा उत्पादन र खपतलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत प्रयोगकर्तामाथि थप आर्थिक भार थोपर्नु उचित नभएको धारणा राखेका छन्। उनका अनुसार यस्तो कदमले नागरिकलाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट समेत विमुख बनाउने जोखिम रहेको छ।
उनले हरित ऊर्जाको प्रवर्द्धन आवश्यक रहेको समयमा विद्युतिय सवारीसाधनको प्रयोगलाई समेत निरुत्साहित हुने गरी बजेटमार्फत करको व्यवस्था गरिएको भन्दै आपत्ति जनाएका छन्। ऊर्जा आत्मनिर्भरता र आयात प्रतिस्थापनलाई प्राथमिकता दिनुपर्ने अवस्थामा सरकारले विपरीत नीति अवलम्बन गरेको उनको तर्क छ।
बजेटको आकार बढाउने उद्देश्यले राजस्व स्रोत खोज्ने क्रममा यस्तो निर्णय गरिएको भए सरकारले तत्काल पुनर्विचार गर्नुपर्ने पोखरेलको भनाइ छ। सरकारले आफैँ उत्पादन र बिक्री गरेको विद्युतको खपत बढ्दा थप करको बोझ लगाएर उपभोक्तालाई दबाबमा पार्नुभन्दा उत्पादनशील क्षेत्र तथा आयात प्रतिस्थापनमा यसको अधिकतम उपयोगका लागि प्रोत्साहन गर्नुपर्ने उनले बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस