पेट्रोलियम पदार्थको मूल्य घटाइएलगत्तै काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ । पेट्रोल नभएको भन्दै धेरै पम्पले बिक्री वितरण बन्द गरेका छन् । पम्पमा पेट्रोल छैन भन्दै बोर्ड टाँसेर पम्प बन्द गरेका छन् ।
सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा भने सवारीसाधनको लामो लाइन लागेको छ । उपत्यकामा नेपाल प्रहरी र आर्मीका पम्पमा लामो लाइन लागेको छ । मंगलबार मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । मूल्य घट्ने अग्रिम जानकारी पाए पछि पम्प सञ्चालकहरुले निगमबाट पेट्रोल नउठाएकाले आज पम्पमा पेट्रोलको अभाव देखिएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टीतेलमा ३० रुपैयाँ घटेको थियो । यस्तै एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाइएको छ । तर आज बिहानैदेखि बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । पम्पमा तेल हाल्नका लागि गएको र तेल नपाएका कारण रित्तै फर्कनु परेको एक चालकले बताए ।
अहिले बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको तर व्यवसायीहरुले अघिल्लो दिन इन्धन नउठाएकाले केहीसमस्या भएको उनको भनाइ छ । व्यवसायीहरुको नेचर नै नाफा कमाउने भएकाले यस्तो भएको उनको भनाइ छ । तर, व्यवसायीहरुले निगमबाट इन्धन बिक्री गरेबापत कमीशन पाउने भएकाले मूल्य बढ्ने र घट्नेसँग कुनै पनि सम्बन्ध नहुनु पर्ने हो । तर, व्यवसायीहरुको लोभका कारण उपभोक्ताहरु भने मारमा परिरहेका छन् ।
व्यवसायीको नेचर नै नाफा कमाउने भएकाले यस्तो भएको जबाफ दिएका प्रवक्ता मनोज कुमार ठाकुले व्यवसायीले कमिशन पाउने अनि यस्तो गर्न मिल्छ भन्ने अर्थसंसारको प्रश्नमा भने निगमले अनुगमनका लागि टोलि पठाइसकेको बताए । ‘कृत्रिम अभावका विषयमा हामीले अनुगमन टोलि पठाएका छौँ । कृत्रिम अभाव गर्नेलाई निलम्बन गछौँ,’ उनले भने ।
व्यवसायीको पक्षमा नै निगमले काम गर्दा आम उपभोक्ता भने मारमा पर्ने गरेका छन् । इन्धनको मूल्य बढेको समयमा केहिलै पनि समस्या अभाव हुँदैन । तर, जब मूल्य घट्छ यस्तो समस्या आइ नै रहन्छ । निगमका प्रवक्ताले नै व्यवसायीको नेचर नाफा कमाउने भनेर उत्तर दिनुले निगमले नै मूल्य घटबढको विषयमा व्यवसायीलाई अग्रिम जानकारी दिन्छ भन्ने कुरामा शंका गर्ने प्रशस्त ठाउँ दिएको छ । हो व्यवसाय गर्ने भनेको नाफा कमाउनका लागि नै हो । त्यसो भए किन कमिशन लिने त ? कमिशन पनि नाफा पनि चाहिने कस्ता व्यवसायी हुन् ?
केही दिने अघि देखिनै १०/१५ रुपैयाँ मूल्य घट्ने हल्लाका बीच व्यवसायीहरुले पेट्रोल नउठाएका कारणले अहिले अहिले बजारमा अभाव जस्तो देखिएको भए पनि केही समयमा यो समस्या समाधान हुने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका वरिष्ठ उपाध्यक्ष चतुर्भुज सरियाले बताए । ‘दुई चार रुपैयाँ हुँदा ठिकै हो तर एक पटक २० रुपैयाँ र ३० रुपैयाँ घट्दा व्यवसायीहरुलाई ठूलो घाटा भएको छ । हिजो धेरै पम्पले निगमबाट इन्धन लोड नगरेको र आज बिहान मात्रै लोड गर्न जाँदा केही अभाव जस्तो देखिएको हो । केही समयमा यो समाधान हुन्छ,’ उनले भने । निगमले दिने कमिशन निकै कम रहेको उनको भनाइ छ । स्टक रहेको तेल बिक्री गर्दा नै निकै ठूलो घाटा व्यहोर्नु परेको उनले सुनाए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस