Like us!
Follow us!
Connect us!
Watch us!

सहुलियत कर्जा नतिर्नेले स्टार्टअप कर्जा नपाउने, सरकारी मापदण्ड पूरा गरेका करिब १ हजार परियोजना सिफारिस

अर्थ संसार

बुधबार, १७ असार २०८३, १५ : १४ मा प्रकाशित

सहुलियत कर्जा नतिर्नेले स्टार्टअप कर्जा नपाउने, सरकारी मापदण्ड पूरा गरेका करिब १ हजार परियोजना सिफारिस

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रमअन्तर्गत कर्जाका लागि सिफारिस भएका परियोजनाको अन्तिम विवरण सार्वजनिक गरेको छ। प्रस्तुतीकरण र बैंकबाट गरिएको क्रेडिट अप्राइजलको संयुक्त मूल्याङ्कनका आधारमा  ९९६ (जना) परियोजनाहरू छनोट गरी कर्जा प्रवाहका लागि सिफारिस गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार प्रारम्भिक चरणमा योग्य ठहरिएका १ हजार २९८ परियोजनाका प्रस्तावकलाई प्रस्तुतीकरणका लागि आह्वान गरिएको थियो। विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा सञ्चालन गरिएको प्रस्तुतीकरण कार्यक्रममा १ हजार १५६ प्रस्तावक सहभागी भएका थिए।उक्त प्रस्तावक मध्ये ९९६ जना स्टार्टअप कर्जाका लागि छनौट भएका छन् । प्रस्तुतीकरणका क्रममा पेश गरिएका परियोजनाको फोटो, भिडियो, वित्तीय विवरण, प्रस्तुतीकरण, प्रश्नोत्तर तथा अन्य विवरणका आधारमा मूल्याङ्कन समितिले अंक प्रदान गरेको थियो। उक्त अंकलाई बैंकबाट गरिएको क्रेडिट अप्राइजलको अंकसँग जोडेर कुल अंक निर्धारण गरिएको र कम्तीमा ५० प्रतिशत अंक प्राप्त गरेका प्रस्तावकलाई प्राथमिकताका आधारमा अन्तिम छनोट गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले कर्जाका लागि सिफारिस भएका परियोजनाको विवरण तथा कर्जा रकम राष्ट्रिय वाणिज्य बैंक लिमिटेड को केन्द्रीय कार्यालयमा पठाइसकेको जनाएको छ। उद्यमीलाई पायक पर्ने बैंक शाखा तोकी असार १७ गतेभित्र प्रतिष्ठानको वेबसाइटमार्फत सूचना प्रकाशित गरिनेछ।

छनोट भएका उद्यमीले सूचना प्रकाशित भएको तीन दिनभित्र तोकिएको बैंक शाखामा सम्पर्क गर्नुपर्नेछ। बैंकमा जाँदा व्यवसाय दर्ता तथा नवीकरण प्रमाणपत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र, नागरिकता, आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र, तीन प्रति पासपोर्ट साइजका फोटो, व्यवसायको छाप तथा आवश्यक परे लिज वा भाडा सम्झौता र सम्बन्धित निकायको अनुमति पत्र साथ लैजानुपर्नेछ।

प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ अनुसार अन्य निकायबाट सहुलियतपूर्ण कर्जा लिइरहेका प्रस्तावकले उक्त कर्जा पूर्ण रूपमा चुक्ता नगरेसम्म यो कर्जा सुविधा प्राप्त गर्न नसक्ने स्पष्ट पारेको छ।

यस्तै, बैंकले कार्यविधिअनुसार आवश्यक प्रक्रिया पूरा गरी कर्जा प्रवाह गर्नेछ। कर्जा प्राप्त गरेका उद्यमीले तोकिएको समयभित्र साँवा तथा ब्याज भुक्तानी नगरेमा कार्यविधिअनुसार कर्जा असुलउपर गरिने प्रतिष्ठानले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको