प्राइम कमर्सियल बैंक लिमिटेडले दीर्घकालीन स्रोत व्यवस्थापनका लागि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्र असार १६ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। यसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सार्वजनिक निष्कासनतर्फको हिस्सामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जनाएको छ।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन्। सेयर बजारको उतारचढावभन्दा निश्चित प्रतिफल खोज्ने लगानीकर्ताका लागि यस्तो ऋणपत्रलाई अपेक्षाकृत सुरक्षित लगानी उपकरणका रूपमा लिइन्छ।
ऋणपत्रमा आवेदन दिन इच्छुक लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा असार १९ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेमा अवधि असार ३० गतेसम्म लम्बिनेछ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले पाएको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि बैंकले ऋणपत्र निष्कासन प्रक्रिया अगाडि बढाएको हो
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस